लोकतन्त्र समाचारदाता–
मलंगवा, साउन ६ सर्लाही जिल्लामा खानेपानी र सिँचाइको अभाव गम्भीर बन्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी, जिल्ला कार्यसमिति सर्लाहीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
मंगलबार जिल्ला सभापति सरोज बानियाँको नेतृत्वमा पार्टी सदस्य सहितको टोली जिल्ला प्रशासन कार्यालय मलंगवामा पुगेर प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापनपत्रमा विगत केही समयदेखि वर्षा नभएका कारण धान रोप्न किसानलाई समस्या भएको र अधिकांश चापाकलहरू सुकेका कारण पिउने पानीको समेत अभाव भएको उल्लेख छ । ज्ञापनपत्रमा पानी जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको तत्काल समाधानका लागि स्थानीय, प्रदेश र संघ सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गरी पहल गर्न माग गरिएको छ ।
“खानेपानीको अभावले स्वास्थ्यमा असर परेको र कमजोर सरसफाइ र फोहर पानीका कारण विभिन्न रोगहरु पनि फैलिने डर भएको उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ। प्रदेश सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको सन्दर्भमा सर्लाहीको समस्या झनै गम्भीर भएको भन्दै ज्ञापनपत्रमा नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । रास्वपा सर्लाहीले प्रजिअ धमला समक्ष बुझाएको ज्ञापनपत्र मार्फत स्थानीय सरकारलाई समेत आवश्यक पहलकदमी लिन आग्रह गरिएको छ ।

