मनोज यादव—
सर्लाही,साउन २
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ केन्द्रीय कार्यालय काठमाडौं र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा सञ्चालित ‘नेपाल छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत सर्लाही जिल्लामा दलित बालबालिकाको शैक्षिक अवस्थालाई सुधार गर्ने उद्देश्यले शैक्षिक पैरवी सम्बन्धि अभिभावक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
बिहीबार मलंगवा नगरपालिका वडा नं. ५, भाँडसरस्थित वडा कार्यालय नजिक सम्पन्न उक्त कार्यक्रम संस्थाको जिल्ला शाखा सर्लाहीले आयोजना गरेको हो। कार्यक्रमको अध्यक्षता अधिवक्ता राजेश पासवानले गर्नुभएको थियो।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष मो. जुल्फकार अली, CWS का अध्यक्ष सुन्दर श्याम राय, शिक्षक कामेन्द्र महरा, स्थानीय अभिभावक, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
आयोजक संस्थाका कार्यक्रम अधिकृत गोविन्द पासवानले सञ्चालन गर्नुभएको कार्यक्रममा बालबालिकालाई निरन्तर विद्यालय पठाउने, शैक्षिक सामग्री पूरा गराउने, बालबालिकालाई अनावश्यक मोबाइल प्रयोग नगर्न दिने, पारिवारिक सद्भाव कायम राख्ने तथा विद्यालयमा गई पठनपाठनको अवस्थाबारे समय–समयमा जानकारी लिने जस्ता विषयमा विशेष छलफल गरिएको थियो।
उक्त कार्यहरु साउन २ गतेदेखि निरन्तर रुपमा कार्यान्वयनमा लैजाने निर्णय कार्यक्रमबाट गरिएको कार्यक्रम अधिकृत पासवानले जनाएको छ।

