बागमतीमा तीनदिने प्रदेश स्तरीय विद्यार्थी प्रतिभा पहिचान तालिम सम्पन्न
मनोज यादव—-
सर्लाही ,असार २३। सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–६, नोकैल्वामा रहेको सुनौलो भविष्य युवा संस्था नेपालको आयोजनामा मधेस प्रदेश सरकारअन्तर्गत शिक्षा तथा संस्कृति मन्त्रालयको सहयोगमा सञ्चालित तीनदिने प्रदेश स्तरीय विद्यार्थी प्रतिभा पहिचान तालिम सोमबार सम्पन्न भएको छ।
बागमती नगरपालिका वडा न–१ स्थित होटल सीता प्यालेसमा शनिबारदेखि सोमबारसम्म सञ्चालन गरिएको उक्त तालिममा प्रदेशभरका आठ जिल्लाका दस विद्यालयहरूबाट विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
संस्थाका अध्यक्ष सुरेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा संयोजक राम कैलाश यादव, प्रन्सिपल एसोसिएसन अफ नेपालकी केन्द्रीय सदस्य विनिता कुमारी साह,जनकपुरका राम नारायण पण्डित,सर्लाही सुन्दरपुरका रविन्द्र पण्डित, हरिपुर्वाकी रञ्जु कुमारी यादव लगायत शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
तालिमको क्रममा हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय र विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक राम कैलाशले जानकारी दिए।
तालिममा प्रशिक्षकका रूपमा लक्ष्मी कुमारी यादव र राम मोचन चौधरीले सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए। सहभागी विद्यार्थीहरूले यस किसिमको तालिमले आफुहरुमा प्रतिभा उजागर गर्न र आत्मविश्वास विकास गर्न मद्दत पुर्याएको प्रतिक्रिया दिएका छन्।
शैक्षिक स्तरमा सुधार ल्याउने र विद्यार्थीहरूभित्र लुकेको प्रतिभा पहिचान गरी उनीहरूलाई अझ सक्षम बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष यादवले जानकारी दिए।
कार्यक्रमको सञ्चालन शिक्षक उमेश दाहालले गरेका थिए।

