लोकतन्त्र समाचारदाता—
सर्लाही, असार २३ सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले तस्करीको ठूलो परिमाणको काजु सहित एक ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, आइतवार बिहान करिब साढे ११ बजेको समयमा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बागमतीबाट काठमाडौँतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रकबाट परालको भुस भित्र लुकाएर राखिएको ८२० केजी काजु फेला परेको हो। उक्त काजु २८ बोरा र ८२ वटा प्लास्टिकको बाल्टिनमा प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बरामद काजुको अनुमानित बजार मूल्य करिब १२ लाख ३० हजार रुपैयाँ बराबर रहेको छ भने ट्रकको मूल्य करिब २५ लाख रुपैयाँ रहेको छ। यसरी ट्रकसहित बरामद गरिएको सामानको कुल मूल्य करिब ३७ लाख ३० हजार रुपैयाँ बराबर पुगेको छ।
प्रहरीले ट्रक चालक सर्लाही बरहथवा नगरपालिका–१३ बसबरीया निवासी ५६ वर्षीय राजबंशी झालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कर्मैयामा राखिएको प्रहरीले जनाएको छ।

