Loktantra Khabar National Weekly
Ad

सर्लाहीको हरिपुरमा बाल विकास शिक्षिका लक्षित ५ दिने तालिम सम्पन्न

लोकतन्त्र खबर
११ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता-
सर्लाही,जेठ १०
सर्लाहीको लालबन्दीमा ग्रामिण नारी उत्थान संघ, हरिपुरको आयोजनामा प्रारम्भिक कक्षा तथा गणितीय सीप सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ। जेठ ६ गतेदेखि सञ्चालनमा आएको तालिम शुक्रबार औपचारिक रुपमा समापन गरिएको हो।

 

बाल विकास कक्षामा अध्ययनरत बालबालिकालाई गुणस्तरीय सिकाइमा सहभागी गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिनुभयो। “बालबालिकाको शैक्षिक भविष्य निर्माणको जग यही कक्षाबाट सुरू हुने भएकाले शिक्षिकाको क्षमता अभिवृद्धि अति आवश्यक छ,” उहाँले भन्नुभयो।

 

तालिममा हरिपुर नगरपालिकाका १६ वटा विद्यालयमा कार्यरत बाल विकास कक्षाका शिक्षिकाहरू सहभागी थिए। तालिम ग्रामिण नारी उत्थान संघ हरिपुरको समन्वय तथा सेभ द चिल्ड्रेनको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालित समुन्नति परियोजनाको साझेदारीमा सम्पन्न भएको हो।

 

समुन्नति परियोजनाका फिल्ड संयोजक शम्भु अधिकारीका अनुसार तालिममा बालबालिकाको सिकाइ प्रविधि, खेलमुखी शिक्षण विधि, गणितीय अवधारणाको विकास, तथा आवश्यक कक्षा सामग्री निर्माण र प्रयोग सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

 

शिक्षाशास्त्रीहरूका अनुसार ५ वर्षभित्र बालबालिकाको बौद्धिक विकासको मुख्य आधार तयार हुने भएकाले प्रारम्भिक कक्षामा दक्ष र सिर्जनशील शिक्षकको भूमिका निर्णायक हुन्छ। आयोजक संस्थाले तालिमबाट सहभागी शिक्षकहरूलाई बालमैत्री सिकाइ वातावरण सिर्जना गर्न थप सघाउ पुग्ने विश्वास लिएको छ।

 

सहभागी शिक्षिकाहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले सिकाइका नयाँ तरिका र उपकरणहरूको प्रयोगले कक्षा झन प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्: