मनोज यादव— सर्लाही,असोज १५
जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा दर्जनौं स्वास्थ्य प्रदायक संस्थाहरु अवैध रुपमा संचालन भइरहेको फेला पारेको छ ।
जसमध्ये मलंगवामा संचालित अधिकांश अल्ट्रासाउण्ड क्लिनिकहरु अवैध रुपमा संचालन भइरहेको जिल्ला प्रशासन कार्यालयले फेला पारेको छ।
सोमबार बिहान जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेकोको अगुवाइमा स्वास्थ्य कार्यालय ,मलंगवा नगरपालिका स्वास्थ्य शाखा लगायतको टोलीले संयुक्त रुपमा गरेको अनुगमनबाट यस्तो फेला पारेका हुन ।
चेकजाँचमा कसैलाई काखा ,कसैलाई पाखा नगरि सबैलाई समान रुपमा हेरिरहेको मलंगवा नगरपालिका स्वास्थ्य शाखाका संयोजक सलिम मिकरानीले बताएका छन् ।
उनले यसअघि पनि अनुगमनको क्रममा मलंगवा क्षेत्रमा संचालित स्वस्थ्य प्रदायक संस्थाहरुमा धेरै कमिकजोरीहरु फेला पारि जरिवाना समेत गराइसकेको बताए ।
टोलीले मलंगवा स्थित प्रादेशिक अस्पताल क्षेत्रमा संचालित ६ वटा अल्ट्रासाउण्ड क्लिनिकहरुको चेकजाँच गर्ने क्रममा ४ वटा क्लिनिकहरु अवैध रुपमा संचालक भइरहेको फेला पारी ती चारवटै क्लिनिकहरुमा शिल गरेका छन्।
चेकजाँचको क्रममा अवैध फेलापरेका प्रेमा हेल्थ क्लिनिक एण्ड प्याथोलोजी,जय माँ सुनैना हेल्थ केयर प्रालि ,मुस्कान हेल्थ डाइग्नोस्टिक सेन्टर प्रालि र अन्जनी हेल्थ केयरलाई शिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी धिमिरेले जानकारी दिए।
डाक्टरहरु अस्पतालमा नबसी आफ्नै निजी क्लिनिकमा बढी समय दिने गरेको गुनासोहरु आउने थालेकोले प्रादेशिक अस्पतालको पनि अनुगमन गरेको उनले बताएका छन् ।
बिना दर्ता सञ्चालन भइरहेका यस्ता अल्ट्रासाउन्ड क्लिनिकहरुमा अवैध गर्भ परीक्षणदेखि भ्रुण हत्यासमेत हुने गरेका छन् ।
जिल्लाको सदरमुकाम मलंगवासहित लालबन्दी, नवलपुर, हरिवन, बरहथवा, गोडैता, ईश्वरपुर लगायतका ठाउँमा दर्जनौको संख्यामा बिना अनुमति यस्ता क्लिनिकहरु संचालन भइरहेका छन् ।
त्यस्ता क्लिनिकहरुमा अवैध गर्भ परीक्षण गर्नकै लागि अल्ट्रासाउन्ड मेसिन राखेर ब्यापार चलाइरहेका छन् ।
बिना दर्ता संचालनमा रहेका यस्ता निजी स्वास्थ्य संस्थाहरुले गर्भवती महिलाहरुको गर्भ परीक्षण गर्नुका साथै कानून विपरीत लिङ्ग पहिचान गराई भ्रुण हत्या गर्ने गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा अनुगमन गरिएको हो ।