Loktantra Khabar National Weekly
Ad

राहत तथा पुनःस्थापनालाई विशेष ध्यान देऊ

लोकतन्त्र खबर
१३ आश्विन २०८१

शुक्रबार बिहानदेखि देशैभर सुरु भएको भारी वर्षाबाट सिर्जित समस्याका कारण जनजीवन अस्तव्यस्त भएको छ । शनिबार रातिसम्मको अपडेटअनुसार बाढी, पहिरो तथा डुबानमा परी देशभर ६६ जनाको मृत्यु भएको छ । ६९ बेपत्ता भएका छन् । काठमाडौं उपत्यकामै ३४ जनाको मृत्यु भएको छ, २ हजार घर डुबानमा परेका छन् ।

व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको यथार्थ विवरण तत्काल सार्वजनिक हुने स्थिति छैन, अहिलेलाई त्यसको अनुमान गर्नसमेत कठिन छ । असार, साउन वा भदौको पहिलो हप्तामा मनसुन सक्रिय रहँदा ठाउँ विशेषमा वर्षाका कारण क्षति पुगेका खबर सार्वजनिक हुने गर्थे ।

तर, असोजको दोस्रो हप्तामा देशलाई एकैसाथ विपत्तिमा होम्ने गरी भएको भारी वर्षा भने पछिल्लो पुस्ताका लागि नयाँ हो । दसैं नजिकिएका कारण सुरु हुँदै गएको चहलपहल, भेटघाट, किनमेल तथा यात्रामार्फत मानिसहरू मनोरञ्जनात्मक बन्दै गएको पृष्ठभूमिमा बेहोर्नुपरेको क्षति अनपेक्षित हो ।

वर्षाका कारण शुक्रबार दिउँसैदेखि काठमाडौं प्रवेश गर्ने पृथ्वी राजमार्ग र बीपी राजमार्गमा क्षति पुगिसकेको थियो । त्यसका अतिरिक्त सबै प्रदेशका साना–ठूला राजमार्गमा समेत आंशिक क्षति पुगेका थिए । ठाउँ–ठाउँका पुल बगाएको थियो ।

जसकारण यातायात प्रणालीमा अवरोध सुरु भएको थियो । कतिपय स्थानमा सवारीसाधन बगाएको, पहिरोले पुरेको थियो । शनिबार बिहानदेखि भने वर्षा झन्

बढ्यो । कोशी, वाग्मती, नारायणी, तिनाउलगायत विभिन्न नदीहरूले खतराको तह नै पार गरे । शुक्रबारदेखि नै काठमाडौं उपत्यकाभित्रका वाग्मती, मनोहरा, हनुमन्ते, कर्मनाशालगायतका नदीहरूमा पानीको सतह बढेर वरपरका बस्तीमा पस्न थालिसकेको थियो ।

शनिबार बिहान नदीबाट पर–परका घरहरूसमेत डुबानमा परे । बाढीले मानिसहरू बगायो । कैयौं विस्थापित भए । देशभरका फरक–फरक स्थानमा भएको वर्षाको विशेषता र त्यसबाट पुगेका क्षतिका विवरणहरू आगामी दिनमा सार्वजनिक हुँदै जानेछन् ।

आइतबारसम्मै वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । त्यसैले पनि वर्षा पूर्णरूपमा नरोकिउन्जेलसम्म सबैले व्यक्तिगत तथा पारिवारिक रूपमा सुरक्षित रहन प्रयत्न गर्नु र तत्कालै सहयोग चाहिँदा प्रयोग गर्न सकिने विकल्पहरूको योजना बनाइराख्नु आवश्यक छ । उनीहरूले स्थानीय सहयोगी तथा सरकारद्वारा व्यवस्था गरिएका सहयोगहरू प्राप्त गर्ने प्रयत्न गर्नुपर्छ ।

तर वर्षा रोकिए पनि मानिसहरूले जे गुमाएका छन्, त्यो पुनः प्राप्त हुनेछैन । जसको घर बगाएको छ, हुन सक्छ कि त्यो उसको पुस्तौंदेखिको सम्पत्ति–शृंखलाको समुच्च थियो, घरसँगै ती सबै बगे । जसको घर डुबानमा परेको छ, बाढी हटेपछि घर त प्राप्त हुन्छ, तर क्षतिसहितको । किनकि, डुबानमा पर्नुअघि विस्थापित हुन सक्नेले पनि सबैथोक सार्न सकेको हुँदैन ।

यस क्रममा उसका कैयौं महत्त्वपूर्ण सम्पत्ति गुमेको हुन सक्छ । मूलतः मान्छेको मनस्थिति पुरानै बिन्दुमा फर्किनै समय लाग्छ । मानिसलाई सहज रूपमा पुरानै दैनिकीमा फर्काउन सरकारी तथा सहयोगी संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।

बाढी तथा डुबान रोकिएपछि पनि मानिसले कतिपय रोगव्याधिको समस्या बेहोर्नुपर्ने हुन्छ । खासगरी बाढीको पानी तथा ढल मिसिएका पानी यत्रतत्र पुग्ने हुनाले पानीको मूल तथा सहायक स्रोतहरू नै दूषित हुन्छन् ।

जसकारण झाडापखाला तथा हैजाजस्ता संक्रमणहरू फैलिन सक्छन् । पानी सुके पनि त्यसले जम्मा गरेका प्रदूषित धूलो लामो समय रहने भएकाले त्यसले श्वासप्रश्वाससँग सम्बन्धित र अन्य समस्या निम्तिन सक्छन् । पशुहरूको मृत्युका कारण दुर्गन्ध फैलिन सक्छ ।

अहिले जम्मा भएको पानीका केही अंशहरू धेरै ठाउँमा जम्मा भएर रहने भएकाले लामखुट्टेको विकासमा सहयोगी हुने र डेंगीको संक्रमण फैलिन सक्ने सम्भावना पनि रहन्छ । यी केही विषय भए । यसमार्फत प्राप्त हुने सन्देश हो– बाढी तथा डुबानपछि पनि अनेकौं समस्याहरू निम्तिन सक्ने सम्भावना बाँकी नै रहन्छन् । त्यसैअनुसारको सतर्कता आवश्यक छ ।

तीनै तहका सरकारले पनि संक्रमण फैलिन सक्ने ठाउँहरूको पहिचान गरेर आवश्यक औषधि छर्किने, सार्वजनिक स्थानको सरसफाइ गर्ने तथा जनचेतना फैलाउने काम गर्नुपर्छ ।

प्राकृतिक विपत्तिहरू प्रायःजसो अनपेक्षित नै हुने गर्छन् । तर यस पटक भने भारी वर्षाको पूर्वानुमान गरिएको थियो । ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्ट’ को निर्णयअनुसार ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरण’ ले उच्च सतर्कताका लागि सूचना सम्प्रेषण गरेको थियो ।

त्यसको केही हदसम्म पालना पनि भयो । तर पूर्ण पालना हुन सकेन वा सम्भव भएन । त्यसैले पनि क्षति पुग्यो । पूर्वानुमान बलियो हुँदाहुँदै पनि यत्तिको क्षति बेहोर्नु दुःखद् छ ।

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली मुलुकबाहिर छन् । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मुलुकको कार्यकारी अभ्यास चलिरहेको छ ।

उनकै नेतृत्वमा शनिबार आपत्कालीन समन्वयात्मक बैठक पनि बसेको छ । बैठकले प्रभावितलाई राहत उपलब्ध गराउने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने, खानेपानीदेखि सडकसम्मका सेवालाई यथाशीघ्र सञ्चालनमा ल्याउने, परीक्षाहरू स्थगित गर्नेलगायतका निर्णयहरू गरेको छ । बैठकका निर्णयहरू इमानदारीपूर्वक र तदारुकताका साथ कार्यान्वयन गर्न आवश्यक छ ।

कतिपय निर्णय मन्त्रिपरिषद् बैठकबाट पनि गर्नुपर्ने हुन सक्छन् । तर शनिबार मन्त्रिपरिषद् बैठक बसेको छैन । यसले नागरिकमा अभिभावकत्वको अभाव महसुस हुन सक्छ ।

यद्यपि, यतिबेला मृतकका परिवारलाई क्षतिपूर्ति, बेपत्ताहरूको खोजी, राहत उपलब्धता र सुरक्षित पुनःस्थापनाका विषय सरकारको प्राथमिकतामा पर्नुपर्छ । त्यसमा पनि बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलालगायत विशेष सहयोग आवश्यक पर्ने वर्गलाई विशेष ध्यान दिइनुपर्छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: