Loktantra Khabar National Weekly
Ad

अबको केही महिना भित्र स्मार्ट लाइसेन्स मधेस प्रदेशमै छापिने यातायात मन्त्री कौशल किशोर राय द्वारा जानकारी

लोकतन्त्र खबर
६ आश्विन २०८१

मनोज यादव— सर्लाही,भदौं ६

मधेस प्रदेश अन्तर्गत सवारी तथा यातायातका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ माथि शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा सरोकारवाला निकायहरु सँग अन्तरक्रिया तथा छलफल गरिएको छ।

यातायात व्यवस्था कार्यालय सर्लाहीको आयोजनामा श्रम तथा यातायात मन्त्रालय जनकपुरधामका सचिव सुरेन्द्र पौडेलको अध्यक्षता तथा श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतामा मलंगवा स्थित सुजाता होटलमा भएको कार्यक्रममा उक्त विधेयक माथि अन्तरक्रिया तथा छलफल गरिएको हो।

सवारी तथा यातायातको क्षेत्रमा भएका समस्याहरुको समाधान गर्न तथा देखिएका विभिन्न त्रुटिहरुलाई सच्याउन बनेको विधेयकमा छुटेका कुराहरूलाई सरोकारवालाहरुकै सल्लाह सुझाव अनुसार समावेश गर्न कार्यक्रमको आयोजना गरिएको मन्त्रालयका सचिव पौडेलले बताउनुभयो ।

मधेस प्रदेशमा अहिले पनि अढाइ लाख नागरिकहरु स्मार्ट सवारी लाइसेन्स पाएका छैनन् ।उनीहरू एउटा चिटकै भरम सवारी चलाउन बाध्य छन् ।

सोही बाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै अबको केही महिना भित्रै आफै मेसिन खरिद गरेर स्मार्ट लाइसेन्स छाप्ने व्यवस्था गर्न लागेको यातायात मन्त्री रायले जानकारी गराउनुभयो।

यसअघिको विधेयकलाई संशोधन गरेर एक प्रदेशबाट अर्को प्रदेश जानको लागि आवश्यक पर्ने सवारी रुट प्रमिट प्रदेश कार्यालयबाटै लिन सक्ने व्यवस्था गर्न लागेको उहाँले जानकारी गराउनुभयो।

उहाँले संघीय सरकारका भौतिक पुर्वाधार मन्त्रीसँग यो बाहेक सुधार गर्नुपर्ने अन्य एक दर्जन बढी विधेयकहरु माथि पनि छलफल गरि संसोधन गर्न सहमति भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका सहभागीहरुले बन्न लागेको विधेयक सम्बन्धि सल्लाह सुझाव दिंदै देखिएका त्रुटिहरुको बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रबीन्द्र सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, ट्राफिक प्रहरी उपरीक्षक माधव प्रसाद काफ्ले, मधेस प्रदेश यातायात मन्त्रालयका बरिस्ठ सहसचिव रंजीत कुमार यादव,यातायात व्यवस्था कार्यालय सर्लाही प्रमुख राकेश कुमार यादव ,प्रदेश अन्तर्गत आठवटै जिल्लाका यातायात व्यवस्था कार्यालयका प्रमुख तथा कर्मचारी ,बस संचालक संघ,अटो संचालक संघ र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: