धार्मिक प्रवचनभित्रका पितृसत्तात्मक दृष्टिकोण सुधारिनुपर्छ । त्यसपछि मात्र हिन्दु धर्म समाज सुधारक बन्नेछ । मानवको हितमा बन्नेछ । महिलाका पक्षमा बन्नेछ ।
पशुपतिनाथ मन्दिर परिसरमा साउन १ देखि कोटीहोम चलिरहेको छ । त्यहाँ सनातन हिन्दु धर्मका राष्ट्रिय र अन्तर्राष्ट्रिय धर्मगुरु अथवा कथा वाचकहरू उपस्थित छन् । तीमध्ये ‘श्रीमद् भागवत गीता’ कथा वाचिका देवी प्रतिभा (प्रतिभा पराजुली) को प्रवचनले सामाजिक सञ्जाल तताएको छ । चौतर्फी आलोचना पनि भइरहेको छ ।
उनले महिलाप्रति धार्मिक धारणा प्रस्तुत गर्दै भनिन्, ‘पतिभित्र एउटा पनि राम्रो गुण छैन, एउटा पनि राम्रो काम गर्दैन, पैसा कमाउँदैन भने पनि पति त पति नै हो । विवाहपश्चात् एउटा पतिव्रता धर्मलाई पालन गर्ने नारीले आफ्नो पतिको आदेशलाई लिएर हर कार्य गर्नुपर्छ । अझ यो संस्कार हाम्रो नेपालमा छ ।’
नेपालमा राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक रूपमा महिलाको समान प्रतिनिधित्वको चर्को बहस चलिरहेको बेला महिलाप्रति देवी प्रतिभाको प्रवचनले नेपाली महिला आन्दोलनमाथि भद्दा मजाक उडाएको छ । त्यति मात्र नभई प्रगतिशील, अग्रगामी र क्रान्तिकारी नेपाली महिलाको चेतनामा आगो झोस्ने काम गरेको छ । त्यसैगरी संविधानले घोषित गरेका महिला अधिकारमाथि खुलेआम धार्मिक हस्तक्षेप भएको छ । वास्तवमा नेपाली महिलालाई पुरुषसरह समान अधिकार चाहिएको हो कि पितृसत्ताको बिँडो थाम्ने ‘पतिव्रता’ ?
देवी प्रतिभाको चर्चाले महिला आन्दोलनकी हस्ती योगमाया न्यौपानेको संघर्षलाई सोच्न बाध्य बनायो । योगमाया धार्मिक र अध्यात्मवादी नेतृ थिइन् । उनमा धाराप्रवाह प्रवचन दिने खुबी थियो । त्यतिखेर उनको प्रवचन सुन्न मानिसको भीड लाग्थ्यो । आजभन्दा १०८ वर्षअघि यही समाजमा संन्यासी जीवनसँगै समाज सुधारको यात्रा सुरु गरेकी थिइन्, उनले ।
राणाकालीन समय, हिन्दु वर्ण व्यवस्थामा सर्वशक्तिमान् अवस्थामा एउटा संन्यासी महिलाले समाजका व्याप्त अन्याय, अत्याचार, शोषण, दमन, रुढिवादी कुसंस्कार, जातीय विभेद, छुवाछूत, दास प्रथा र सती प्रथाको कसरी खुलेर विरोध गर्न सकिन् होला ? न त उनले औपचारिक शिक्षा प्राप्त गरेकी थिइन्, न कुनै धार्मिक शास्त्रीय शिक्षा । तैपनि महिलालाई मान्छेकै दरमा नगन्ने समाजमा राणाहरूसँग आँखा जुधाएर सामाजिक मुद्दा उठाउने कस्तो ण्साहस ! हिन्दु वर्ण व्यवस्थामा आधारित पितृसत्तात्मक व्यवस्था र जात व्यवस्थाको उनले डटेर विरोध गरिन् ।
योगमाया धार्मिक र आध्यात्मिक भए पनि समाज सुधारका मुद्दालाई जोडदार उठाएकी थिइन् । जुन मुद्दा भुइँ वर्ग, समुदाय र महिलाको सवालमा आधार स्तम्भ बनिरहेका छन् । उनी धर्मलाई मानव हित मान्थिन् । धर्मलाई मानवताका पक्षमा हेर्नुपर्छ भन्ने मान्यता राख्थिन् । राज्यले धर्मलाई मानवताको कोणबाट हेर्नुपर्छ भन्ने धारणा थियो उनमा । तत्कालीन राणा शासकहरूसँग धर्मराज्यको भिक्षा माग्न मानिस पठाइन् । धर्मराज्यका मुख्य मागहरू थिए— चर्को ब्याज लिन नपाउने, महिलाको अनुमतिबेगर सौता हाल्नेमाथि प्रतिबन्ध लगाउनुपर्ने, एक समान मानापाथी कायम हुनुपर्ने, घूस खान नपाउने आदि । जात काट्न, मुड्न अन्त्य होस्, विधवाले विवाह गर्न चाहेमा स्वीकृति दिइयोस्, छुवाछूत मुक्त समाज होस्, केटाकेटीको उमेर पुगेर मात्र विवाह होस्, केटाकेटीको मञ्जुरीबिना भएको विवाह बदर होस् भन्ने उनका माग थिए ।
यस्तै, शिक्षामा भेदभाव नहोस्, महिला र अन्य सबै जातिले वेद पढ्ने व्यवस्था होस्, गरिबको ऋण मिनाहा होस्, खेतीयोग्य जमिन बाँझो राख्न नपाउने होस्, गाउँमै खादी कपडा बुन्ने र लगाउने व्यवस्था होस्, भूदान योग्य गरी गरिबलाई जग्गा दिइयोस्, पुराना ऐन खारेजी र नयाँ ऐन जारी गरी देशभरि लागू गरियोस् भन्ने माग उनले राणाहरूलाई पेस गरिन् । तर, उनका माग पूरा नभएपछि १९९८ असार २२ गतेका दिन ‘अधर्मको अन्त्य होस्, धर्मराज्य स्थापना होस्, मुक्तिको द्वार खोलोस्’ भन्दै योगमाया ६८ जना भक्तजनसहित अरुण नदीमा जलसमादी लिइन् । यसरी उनले उठाएका मुद्दाले नेपाली महिला आन्दोलनलाई उत्कर्षमा पुर्यायो ।
आजका नेपाली महिला ‘पतिव्रता’ को स्थितिबाट धेरै माथि उठिसकेका छन् । विवाहपश्चात् ‘पतिव्रता’ धारण गर्नुपर्ने कुरालाई नकार्छन् । चेतनाको स्तरले महिला परिवर्तनशील छन् । योगमायाले राणाकालीन समयमा सुरु गरेको समाज परिवर्तनको सुरुवातदेखि बहुदलकालमा द्वारिकादेवी ठकुरानीले गरेको संघर्ष, पञ्चायतविरुद्ध शैलजा आचार्यले गरेको आन्दोलन र माओवादी जनयुद्धमा बन्दुक उठाएका हजारौं महिलाको बलिदानले परिवर्तनको आवाज बुलन्द बनाइदियो । आजका नेपाली महिलालाई ‘पतिव्रता’ को ज्ञान सिकाउनु लज्जास्पद कुरा हो । सिंगो महिला आन्दोलनको इतिहासको अपमान हो । धर्मलाई समयअनुकूल नभई यथास्थितिवादी चिन्तनबाट प्रवचन दिनु कुनै हिसाबले जायज छैन ।
उसो त, हजारौं वर्षदेखि पुरुषले प्रतिनिधित्व गरेको पशुपतिनाथ मन्दिरमा नेपाली महिलाले पहिलो पटक धार्मिक प्रवचन दिनु ऐतिहासिक छ । सर्वसाधारण जनतादेखि राजनीतिक दलमा संलग्न उच्च ओहदाका महिलाहरूले पनि खुबै प्रशंसा गरेका छन् । राजनीतिक रूपमा जसरी नेपाली महिलाको प्रतिनिधित्व बढिरहेका छ, धार्मिक क्षेत्रमा पनि उनीहरूको उपस्थिति बढेको संकेत देवी प्रतिभाहरूले देखाएका छन् । तर त्यो तहमा पुगेर महिलालाई ‘दास’ बनाउने खालका धार्मिक कथालाई अझै पनि किन व्याख्या गरियो भन्ने मुख्य प्रश्न हो ।
पुरुष वर्चस्वको अधीनमा सञ्चालित हिन्दु धार्मिक क्षेत्रमा महिला उपस्थितिले समाजलाई नयाँ ज्ञान दिन सक्नुपर्छ । जुन ज्ञान राज्य व्यवस्थाले, कानुनले, विज्ञानले र रूपान्तरित समाजले पचाउन सक्ने हुनुपर्छ । धर्ममा रहेका अधर्मका कुरा अन्त्य गरेर धर्मलाई धर्मकै रूपमा नयाँ दृष्टिकोणबाट प्रस्तुत गर्न सक्नुपर्छ । आधुनिक युगमा दिइने धार्मिक प्रवचनहरू यथास्थितिबाट माथि उठ्न जरुरी छ । जहाँ कथा वाचकले समाज रूपान्तरणका निम्ति नयाँ विचार प्रस्तुत गर्न सकुन् । कोही मानिस धर्मकै कारण शोषण, दमनमा नपरोस्, हिंसामा नपरोस्, धार्मिक मूल्य मान्यताको बहानामा महिलाले लैंगिक हिंसा झेल्नु नपरोस् । हिन्दु धर्मकै कारण कोही कसैले विभेद भोग्न नपरोस् ।
आजको परिमार्जित व्यवस्था ल्याउन महिला आन्दोलनले रचेका इतिहासका डोब र उठाइएका मुद्दा स्थापित गर्न धार्मिक प्रवचन महिलाको हितमा हुनुपर्छ । धार्मिक प्रवचनभित्रका पितृसत्तात्मक दृष्टिकोण सुधारिनुपर्छ । त्यसपछि मात्र हिन्दु धर्म समाज सुधारक बन्नेछ । मानवको हितमा बन्नेछ । महिलाका पक्षमा बन्नेछ । अबको धार्मिक प्रवचन आलोचनात्मक रूपले वैचारिक र नवीन तरिकाले अघि बढ्नुपर्छ । जुन सुन्न लायक र अवलम्बन गर्न लायक होस् । यो परिवर्तित युगमा श्रीमान्, श्रीमती, सासू, बुहारी, आमा, छोरीको कथा मात्र सुनाउनुभन्दा तिनका अधिकारका लागि नयाँ विचार निर्माण गर्न सक्नुपर्छ । कान्तिपुर