Loktantra Khabar National Weekly
Ad

सर्लाहीको बागमतीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु,१७ जना घाइते

लोकतन्त्र खबर
७ असार २०८१

मनोज यादव—
सर्लाही,असाढ ६ गते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बागमती नगरपालिका वडा न–१ स्थित रायमाझी चौकमा आज बिहान(बिहीबार) यात्रुबाहक बस र भारतीय मालबाहक ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुपन्देहीको मायादेवी गाउँपालिका वडा न-२ बस्ने अन्दाजी वर्ष ८५ को दशरथ कहार,सोही ठाउँका अन्दाजी वर्ष ५० को रामकरण केबट र सोही जिल्लाको देवदह नगरपालिका वडा न-११ बस्ने अन्दाजी वर्ष कृष्णा चौधरी रहेका छन् ।

उनीहरूको नमूना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको छ।

मृतक तीनैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

बिहान करिब सवा ६ बजेको समयमा भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बसले ओभरटेक गर्ने क्रममा सडक छेउमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालबाहक ट्रकलाई पछाडीबाट ठक्कर दिंदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।

दुर्घटना भए लगत्तै घटना स्थलमा पुगेका प्रहरी टोली घाइतेहरुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाएको प्रहरी प्रवक्ता एवं डिएसपी श्रेष्ठले जनाएको छ ।

बस चालक रुपन्देही जिल्ला देवदह नगरपालिका वडा न-७ बस्ने अन्दाजी वर्ष ३५ को अर्जुन खरेल इलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको छ।

ट्रकका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।बसमा ४० जना यात्रु सवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस्: