Loktantra Khabar National Weekly
Ad

हरिपुर(पिडारी)मा ओभरहेड ट्याङ्की निर्माण सुरु भएको झण्डै सात वर्ष पछि बल्ल पुग्यो जनताको घरमा खानेपानी

लोकतन्त्र खबर
२८ जेष्ठ २०८१

मनोज यादव—
सर्लाही,जेठ २८

खानेपानीको समस्या सामाधाका लागि सर्लाहीको हरिपुर नगरपालिका वडा न-९ मा झण्डै सात वर्षदेखि बन्दै आएको ओभरहेड ट्याङ्कीको निर्माण कार्य सम्पन्न भएपछि बल्ल ८६६ घरधुरीमा खानेपानी खानेपानीको सुविधा पुगेको छ ।

प्रत्येक वर्ष गर्मीको मौसममा हैण्ड पम्प ,ईनार लगायत पानीको मुहानहरु सुकेर खानेपानीको समस्या झेल्दै आएका स्थानीयहरुको लागि पिडारी खानेपानी आयोजना मार्फत १६८ मिटर गहिरो र २०० घन मिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण गरी प्रत्येक घरधुरीमा धारा वितरण गर्न सुरु गरिएको हो ।

उक्त खानेपानी आयोजनाको मधेश प्रदेश सरकारकी नवनियुक्त उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेलीले औपचारिक रुपमा उद्घाटन गरेकी छिन् ।

मन्त्री लुङ्गेलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेका खानेपानीको अधुरा योजनाहरु पूरा गरेर प्रत्येक नागरिकको घरघरमा खानेपानीको सुविधा पुर्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताईन् ।

नेपाल सरकारको ५० लाख ५० हजार, दातृ संस्था अक्सफाम र बागमती सेवा समाज नेपालको तीन करोड ७९ लाख ८३ हजार ७८५ रुपैयाँ र जनसहभागिताको ३३ लाख १८ हजार ८५० रुपैयाँको लागतमा उक्त खानेपानी आयोजना सम्पन्न गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवनाथ साहले जानकारी दिए ।

उनले २०७५ सालबाट सुरु भएको खानेपानी आयोजनाको काम भर्खरै पूरा गरेर घरघरमा खानेपानी वितरण गर्न सुरु गरिएको बताए । पानीलाई शुद्ध र सफा बनाउनका लागि अत्याधुनिक उपकरण समेत जडान गरिएकाे संस्थाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्: