
लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ २७
सर्लाही कबिलासी नगरपालिकामा आयोजना गरिएको एकदिने नि:शुल्क स्वास्थ्य शिविरमा ४ सय ३५ जनाले स्वास्थ्य सेवा लिएका छन्।
देव श्री पोलिक्लिनिक मलंगवा-९ को आयोजनमा कबिलासी-८,अगर्वा स्थित श्री जनता माविको प्रांगणमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरम स्त्री रोगसम्बन्धी विशेषज्ञ सेवा,हाडजोर्नी र नशा सम्बन्धि विशेषज्ञ सेवा ,ब्लड प्रेसर ,सुगरको जाँच,प्रयोगशाला सम्बन्धि सम्पूर्ण जाँच,भिडियो एक्स-रे तथा अन्य सामान्य उपचार र निःशुल्क औषधि वितरण सेवासमेत प्रदान गरिएको थियो।
शिविरमा आएका बिरामीहरुको विशेषज्ञ डा.चिरन्जिवी यादव,डा.शरद यादव,डा.राकेश यादव र डा.सोनेलाल साह र डा.राहुल यादवले स्वास्थ्य जाँच गरेका थिए।
उक्त शिविरको कबिलासी नगरपालिकाका प्रमुख ब्रम्हदेव राय र उपप्रमुख पुनम कर्णले सर्लाही जिल्लाकै सबैभन्दा बढी उमेरका जेष्ठ नागरिक अगर्वा निवासी १२० वर्षिय बिहारी ठाकुरलाई संयुक्तरूपमा दोसल्ला ओढाएर उद्घाटन गरेका थिए।
ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको देवश्री पोलिक्निकका संचालक सोनेलाल यादवले बताए।
देवश्रीले यसअघि पनि जिल्लाको विभिन्न पालिकामा नि:शुल्क स्वास्थ्य शिविरहरुको आयोजना गरि उपचारबाट बन्चित हजारौं गरिब तथा अतिविपन्नहरुलाई स्वास्थ्य सेवा प्रदान गरिसकेका छन् ।
संस्थाले यसअघि मलंगवा नगरपालिका वडा न-१२ को पल्सी टोलमा पनि यसैगरी स्वास्थ्य शिविरको आयोजमा गरि ५०० जना भन्दा बढी बिरामीहरुलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेको यादवले जानकारी दिए।