Loktantra Khabar National Weekly
Ad

अन्तर्राष्ट्रिय उडान नहुने अन्तर्राष्ट्रिय विमानस्थल

लोकतन्त्र खबर
२० जेष्ठ २०८१

सञ्चालनका लागि कुनै योजना नबनाई विमानस्थल थप्दा अवस्था के हुन सक्छ भन्ने पाठ सरकारले गौतम बुद्ध र पोखराको विमानस्थलबाट सिक्नुपर्छ । बनिसकेका यी दुवै विमानस्थल सञ्चालनका लागि सरकारले अविलम्ब योजना बनाउनुपर्छ ।

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष नाघेको छ । पोखरामा अर्को विमानस्थल बनाएर उद्घाटन गरिएको करिब डेढ वर्ष भएको छ । सरकारले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत राखेर ऋण लगानीमा बनाएको थियो । तर उद्घाटनको यति समय बितिसक्दा गौतम बुद्धबाट सीमित संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान हुन सकेको छ, पोखराबाट चार्टर्डबाहेक व्यावसायिक उडान छैन ।

काठमाडौंस्थित एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढिरहँदा विकल्पका रूपमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जरुरी छ । तर अर्बौं ऋण लगानी जुटाएर विमानस्थल निर्माणमा जस्तै तदारुकता सञ्चालनमा सरकारले देखाउन सकेको छैन ।

मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा र आसपास क्षेत्रलाई लक्ष्य गरेर थप दुइटा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको हो । ३५ अर्ब रुपैयाँभन्दा बढी लगानीमा निर्मित भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरुवाती दिनमा जजिरा एयरलाइन्सले सातामा तीन दिन उडान गरेको थियो । पछि हिउँदमा ‘भिजिबिलिटी’ को समस्या देखाएर उडान रोक्यो । विमानस्थलमा उपकरणको मद्दतबाट विमान अवतरण गर्ने प्रणाली ‘आईएलएस’ जडान भए पनि भारतले सञ्चालनको अनुमति दिएको छैन । यस्तै, सहज हुने पश्चिमतर्फको हवाई प्रवेश बिन्दु थपका लागि भारतसँग राखिएको प्रस्ताव स्वीकृत भएको छैन । भैरहवाका लागि सिमरा हुँदै प्रवेश गर्दा दूरी लम्बिने हुनाले उडान खर्च महँगिन्छ । अहिले नेपाल एयरलाइन्सले मात्र मलेसियाको क्वालालम्पुरबाट सातामा एक दिन ‘कनेक्टिङ’ उडान गरिरहेको छ ।

गौतम बुद्ध विमानस्थल सञ्चालनबाट लुम्बिनी आउने पर्यटकको संख्या बढ्नुका साथै खाडी मुलुक र मलेसिया आउजाउ गर्ने श्रमिक लाभान्वित हुने अपेक्षा गरिएको थियो । तर यसका लागि पूर्वाधार व्यवस्थापनमा सरकारले ध्यानै दिएको पाइँदैन । विमानस्थल सञ्चालनका लागि भन्सार, राजस्व, श्रम जस्ता विभिन्न मन्त्रालयअन्तर्गतका निकाय चाहिन्छ । स्वास्थ्य परीक्षणलगायत सुविधा पनि विमानस्थल आसपास नै सम्भव हुने गरी व्यवस्था मिलाइएको छैन । म्यानपावर कम्पनी, ट्राभल एजेन्सी पनि काठमाडौंमै केन्द्रित छन् । सञ्चालनमा सरकारको प्राथमिकतामा नपर्दा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने क्रम घट्यो । प

हिलो वर्ष गौतम बुद्ध विमानस्थलबाट सन् २०२२ मा ३१ हजार ३ सय ५५ यात्रु बाहिरिएका थिए । सन् २०२३ मा घटेर ४ हजार ७ सय ५१ जनाले मात्र उडान गरे । यो वर्ष पाँच महिना बित्दा करिब १ हजारले मात्र विदेश जान गौतम बुद्ध विमानस्थल प्रयोग गरे । अन्तर्राष्ट्रिय उडान कम भएकाले सञ्चालन खर्चको घाटा रकम थपिइरहेको छ । अर्कातिर अन्तर्राष्ट्रिय उडानका यात्रुलाई लक्षित गरेर होटलजस्ता पूर्वाधारमा लगानी गरेका व्यवसायी पनि निराश छन् । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने विश्वासमा रूपन्देही र आसपास मात्र ४० अर्ब रुपैयाँभन्दा बढी होटल व्यवसायमा लगानी भएको उनीहरूको भनाइ छ । निर्माणाधीन आधा दर्जन तारे होटलको काम रोकिएको छ ।

भैरहवा विमानस्थलबाट उडान भर्न केही एयरलाइन्सले अझै चासो राखिरहेका छन् । तर उनीहरूले सेवा शुल्क, ल्यान्डिङ/पार्किङ तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा छुट दिनुपर्ने र हवाई टिकटको भ्याट हटाउनुपर्ने जस्ता सर्त राखेका छन् । छुट सुविधा भए हवाई भाडा घट्ने र यात्रु आकर्षित हुने उनीहरूको तर्क छ । सरकारले यथोचित हुने विषय सम्बोधन गर्नुपर्छ । श्रमिकलाई विदेश जान चाहिने स्वास्थ्य परीक्षण, श्रम इजाजत, बिमालगायत सुविधा त्यही क्षेत्रबाटै लिने व्यवस्था मिलाइनुपर्छ । विदेश उड्न चाहिने सबै प्रक्रिया त्यहीं सम्भव भयो भने म्यानपावर कम्पनी र ट्राभल एजेन्सीलगायतले समेत सेवा विस्तार गर्छन् ।

गौतम बुद्ध विमानस्थलबाट सीमित संख्यामा अन्तर्राष्ट्रिय उडान भइरहँदा सात महिनापछि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा केही पटक चार्टर्डबाहेक व्यावसायिक उडान हुन सकेको छैन । यो करिब २२ अर्ब ऋण लगानीमा बनाइएको विमानस्थल हो । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेज व्यवस्था गरिने भनेको छ । तर त्यसको दुई सातापछि ल्याइएको बजेटमा यसबारे केही उल्लेख छैन । बरु सार्वजनिक–निजी साझेदारीमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) निर्माण गर्न ‘लगानीको ढाँचा र तयारीका कार्य सम्पन्न गरिने’ भनिएको छ ।

सञ्चालनका लागि कुनै योजना नबनाई विमानस्थल थप्दा अवस्था के हुन सक्छ भन्ने पाठ सरकारले गौतम बुद्ध र पोखराको विमानस्थलबाट सिक्नुपर्छ । बनिसकेका यी दुवै विमानस्थल सञ्चालनका लागि सरकारले अविलम्ब योजना बनाउनुपर्छ । अन्तर्राष्ट्रिय उडान हुँदा चाहिने पर्यटन, श्रम, अर्थ, गृह र रक्षा मन्त्रालयअन्तर्गतका सम्बन्धित एकाइ स्थापना र सञ्चालन तत्काल जरुरी छ । एयरलाइन्सहरूलाई अन्तर्राष्ट्रिय उडानमा प्रोत्साहन गर्ने कार्यक्रम सुरुवाती दिनमा चाहिन्छ । अन्तर्राष्ट्रिय उडानको असहजता हटाउन भिजिबिलिटीको समस्या निराकरण र भारतीय आकाशबाट हुने प्रवेश बिन्दु थपका लागि सरकारले बलियो कूटनीतिक पहल गर्नुपर्छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: