डेढ वर्षयता संसद्मा देखिएका प्रमाणहरूले प्रस्ट बताइसकेका छन् कि रास्वपा सभापति लामिछानेको अबको प्रमुख ध्येय भनेको दोहोरो पासपोर्ट र सहकारी अपचलनका मुद्दामा आफू कसरी जोगिने भन्ने नै हो ।
पुराना दलहरूको बेथिति चिर्ने भन्ने नारामा उदाएको रास्वपाको प्रमुख चरित्र नै तिनै पुराना दलका कृत्यहरूलाई अनुमोदन गर्नु र उनीहरूलाई जोगाउने भूमिकामा खुम्चिइसक्यो ।
नेटफ्लिक्समा एउटा ‘सिरिज’ छ– ब्रेकिङ ब्याड । पाँचवटा ‘सिजन’ मा ६२ ‘एपिसोड’ भएको दशकअघिको यो सिरिजलाई अमेरिकी टेलिभिजन इतिहासकै सर्वाधिक भव्यमध्ये मानिँदो रहेछ । पंक्तिकार टेलिभिजनका सिरिजहरूमा धेरै रुचि राख्ने दर्शक त होइन तर जब कुनै सिरिज अति चर्चित भएर तिनीहरू तत्कालीन समयका ‘सांस्कृतिक अध्ययन’ कै अंश बन्न पुग्छन् तब भने हेरौंहेरौं लाग्छ ।
त्यसमाथि ‘ब्रेकिङ ब्याड’ बारे त स्ट्यान्फोर्ड विश्वविद्यालय आबद्ध पछिल्लो दशकका ‘सेलिब्रिटी’ वैज्ञानिक–दार्शनिक रोबर्ट स्यापोल्स्कीले समेत चर्चा गरेका थिए, मानिसको व्यक्तित्वको बनोट र विघटन कसरी ऊ आफैंले थाहै नपाउने गरी हुन सक्छ भन्ने उदाहरणका रूपमा ।
स्यापोल्स्कीको बहुचर्चित ‘बिहेभ’ भन्ने ‘मास्टरपिस’ किताबमाथि त पंक्तिकारले कान्तिपुरकै कोसेलीमै चर्चा गरेको थियो, दुई वर्ष पहिले । हामी मानिसले गर्ने जुन ‘बिहेभिएर’ छ त्यो कसरी एक सेकेन्ड पहिले के भएको थियो भन्ने कुराले प्रभावित हुन्छ, एक घण्टा पहिले के भएको थियो भन्नेले कति निर्देशित हुन्छ, सानो छँदा हामी के–कस्ता अनुभूतिबाट गुज्रेका थियौं भन्नेले अहिले कति तलमाथि हुन्छ मात्र होइन, हजारौं वर्ष पहिलेदेखि हामीमा आउने सेलहरूबाट त्यो कति प्रभावित भएको हुन्छ भनेर चर्चा गरिएको यो गहन ग्रन्थले मानिसले अहिलेसम्म आफूलाई बुझ्दै आएको बुझाइलाई सधैंका लागि फेरिदिएको छ । आज ‘ब्रेकिङ ब्याड’ र स्यापोल्स्कीका सन्दर्भ ल्याउनैपर्ने भएको कारण चाहिँ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी लगभग दुई वर्षको यात्रामा केबाट सुरु भएर केमा रूपान्तरण भयो भनेर थोरै मनोवैज्ञानिक रूपमा व्याख्या गर्ने बिम्बका लागि हो ।
माध्यमिक विद्यालयमा रसायनशास्त्र पढाएर साधारण अमेरिकी संघर्षको जिन्दगी बिताइराखेका एउटा पात्रलाई अचानक क्यान्सर भएको पत्ता लाग्छ । श्रीमती र फरक क्षमता भएका आफ्ना कलिला छोरालाई अति माया गर्ने उनको मनमा आखिर अब छिट्टै मर्नु नै छ भने परिवारलाई केही गरेर छाडौं भन्ने आउँछ । जसका लागि उनले सुरुमा एउटा ‘सानो’ गलत बाटो अपनाउँछन्, जो उनलाई अनैतिक कर्म जस्तो लाग्दैन । ‘ब्रेकिङ ब्याड’को कथा अघि बढ्दै जाँदा, त्यो सानो गलत जब उदांगिने जोखिम बढ्छ, त्यसलाई ढाक्न उनले अर्को अलिक ठूलो गलत काम गर्न बाध्य हुन्छन् र यो शृंखला बढ्दै जान्छ । हेर्दाहेर्दै, एउटा तीक्ष्ण दिमागका तर पचास वर्ष कटुन्जेल सादा जिन्दगी बिताएका उनका चरित्रका यस्ता यस्ता भित्री पाटा खुल्दै जान्छन् कि उनी आफू नै आफैंसँग छक्क पर्ने जस्तो हुन्छ । वर्षौंवर्ष सँगै बसेका परिवारका सदस्यले उनलाई ‘वास्तवमा तिमी को हौ ?’ भनेर सोध्ने स्थिति आउँछ ।
के थाहा प्रचण्ड र ओलीको तिक्तता थप उचाइमा पुग्यो भने अहिलेको गठबन्धन फेरि कुनै पनि दिन गर्ल्यामगुर्लुम हुन सक्छ । प्रचण्ड र देउवा मिलेर फेरि रास्वपालाई सरकारमा आउन भन्न सक्छन् । त्यतिबेला पनि रास्वपा लुसुक्क परेर सरकारमा जान सक्छ किनकि त्यसो नगरेमा लामिछानेमाथिका मुद्दाहरूले निर्णायक रूप लिन सक्छन् ।
अहिले रास्वपाको मूल नेतृत्व मात्र होइन, यसको नेतृत्व पंक्तिका दुई–चार ‘पूर्व’ प्रतिभाशाली व्यक्तिहरू विगत छ महिना जतिमा आफूले आफैंलाई वास्तवमा ‘म भित्रबाट को रहेछु ? मैले अहिले के काम गरिरहेको छु ? मैले कसका पक्षमा, किन यस्ता तर्क गरिरहेको छु ?’ भनेर सोध्नुपर्ने स्थितिमा पुगेको पंक्तिकारको आकलन छ । अहिले उनीहरू सहकारी अपचलनका पक्षमा संसद्मा र कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको प्रतिशोधपूर्ण मात्र नभई रास्वपाकै ‘इमेज’का लागि मूर्खतापूर्ण गिरफ्तारीका सन्दर्भमा संसद् बाहिर जे बोलिराखेका छन्, सायद आफूबाट त्यस्तो बोलिन्छ र गरिन्छ भन्ने उनीहरूले डेढ वर्ष पहिले कल्पना नै गर्दैनथे । तर मान्छेलाई एउटा घटनाले अर्कोमा पुर्याउँछ, अनि त्यो अर्कोले झन् अर्कोमा । आफ्नो ‘फ्री वील’ भन्ने चिज थाहै नपाई अलप हुँदै जान्छ । अनि आफू सानो छँदादेखि मनमा दबेर बसेका, आफैंलाई थाहा नभएका आफ्ना ‘व्यक्तित्व’का अपरिचित पाटा आफ्नै अगाडि एकपछि अर्को गरेर खुल्दै जान्छन् ।
बौद्धिक रूपमा मात्र हेर्दा त हामी मानिस निकै रोचक प्राणी हौं, आफूभित्र थुप्रै ‘आफूहरू’ लिएर बाँच्ने र तिनीहरूमध्ये धेरैसँग साक्षात्कार नै नहुने । हाम्रा निर्णयलाई हामीले आफ्नै भन्छौं तर स्यापोल्स्कीले भनेझैं के ती सबै स्वतन्त्र रूपमा गरिएका हुन् त ? के रास्वपाका नेता, सदस्य र शुभेच्छुकहरू साँच्चै आफैंसँग स्वतन्त्र छन् त ? राजनीतिमा आउने र कम्तीमा एउटा सांसद र सके मन्त्रीसम्म भए पनि भइहाल्ने एउटा महत्त्वाकांक्षालाई पछ्याउँदा यसका सदस्यहरूले आफ्नो विवेक नै बन्धक भइसकेको समेत थाहा नपाउने स्थितिमा पुगेका हुन् त ? के यिनीहरूलाई आफू सांसद र मन्त्री हुनुभन्दा पहिले आफूसँग जुन आत्मसम्मान थियो, त्योभन्दा अहिले धेरै प्राप्त गरें भन्ने लागेकै हो त ?
दुई वर्ष पहिले जेठ महिनातिरै हुनुपर्छ, आम निर्वाचनको मिति तोकिएकै थिएन तर मंसिरमा होला भन्ने अनुमान थियो । त्यही अनुमानलाई आधार बनाएर पंक्तिकारले आफ्नो यही स्तम्भमा लेखेको थियो— ‘मंसिरमा बिदाइ गर्नैपर्नेहरू’ भनेर । पुराना दलका भ्रष्ट र अकर्मण्यहरूलाई, त्यसमा पनि शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाललाई ठाउँको ठाउँ हराइदिए भने सम्बन्धित क्षेत्रका जनताले देशभरिका जनतालाई गुन लगाएको हुन्थ्यो भन्ने लेखको अपिल थियो । कोही नयाँ शक्ति उदाइदिए केही नयाँ हुन्थ्यो कि भन्ने मनमा तीव्र अभिलाषा थियो । त्यही सेरोफेरोमा एउटा अभियानका रूपमा रास्वपाले जुन लहर ल्याएको थियो, त्यो आशा जगाउने एउटा झिल्को हो कि भन्ने लागेको थियो । २१ सिट ल्याएको नयाँ दलबाट धेरै अपेक्षा गर्न मिल्ने त थिएन, तैपनि केसम्म आस थियो भने उसले देखाउने केही उदाहरणीय कामले पुराना दललाई थोरै भए पनि सुध्रिन दबाब पर्छ होला ।
पहिले पहिलेका गृहमन्त्री ‘बहादुर खड्काहरू, वामदेव र महरा’ हरूको चालढालले यति वाक्कदिक्क भइएको रहेछ कि तिनीहरूको ठाउँमा पहिलो पटक लामिछाने गृहमन्त्रीका रूपमा संसद्को पोडियममा बोल्न जाँदा उनी हिँडेको समेत मन परेको थियो । त्यतिबेला पनि थाहा त थियो रवि स्वयम् ‘सब्सट्यान्स’मा केही थिएनन् । एउटा पढाइमा औसत युवा, नेपालमा खासै केही गर्न नसकेर, जे भए पनि गरौं न भनेर हन्डरठक्कर खाँदै अमेरिका गएका थिए । उता फेरि केके खाए त्योसमेत विवादास्पद भएको सुनिएकै थियो । तर उनी के हुन् भन्दा पनि कम्तीमा पुरानाहरूलाई विस्थापित गर्ने लहरलाई योगदान दिए भनेर उनीप्रति शुभेच्छा थियो । उनीसँग जोडिन गएका, आफ्नो पेसागत क्षेत्रमा धेरथोर राम्रै गरेका जो थिए, तिनले पनि केही उदाहरणीय काम गर्लान् कि भन्ने नै थियो । आखिर देश राम्रो हुँदै गएको खण्डमा एउटा नागरिकका रूपमा त्यसको लाभग्राही स्वतः आफू भइहालिन्छ । राम्रो गर्नका लागि फलानो पार्टीकै आउनुपर्छ भन्ने आग्रह दलीय लाभांश लिने व्यक्तिबाहेक अरूलाई किन हुनु थियो र ? तर समग्रमा डेढ वर्ष र खासमा विगतका दुई–तीन महिनामा उनीहरूमा ‘इभोल्भ’ हुँदै गइरहेको जुन राजनीतिक आचरण छ, त्यसका आधारमा दुःखका साथ तर निर्धक्कसँग भन्ने बेला भएको छ कि आजका दिनमा रास्वपाका नेतृत्वपंक्तिमा जो जो छन्, तिनीहरूले प्रत्येक दिन आफैंलाई ‘ह्युमिलिएसन’ गरिराखेका छन् ।
कानुनी रूपमा कहिले कस्तो छिनोफानो होला त्यो हेर्न बाँकी नै छ तर कुनै पनि ‘सेन्सीबल’ नेपालीले थाहा पाइसकेको हुनुपर्छ कि रविले एकैपटक दुइटा देशको राहदानी बोक्ने कसुर गरिसकेका छन् । कति ‘कागज मिलाएर’ र कति किर्ते गरेर भन्ने थप प्रस्ट हुँदै जाला तर अलिकति संयम राखेर सोच्न सक्ने सबैले सजिलै बुझ्ने कुरा हो कि उनले गोर्खा मिडिया चलाउँदा गरिब–निमुखा जनताको सहकारीको करोडौं बचतको अपचलनमा साझेदार भएकै रहेछन् । जीबी राईजस्ता व्यक्तिसँग केवल दुईमध्ये एक पार्टनर भएर जाने व्यक्तिको चरित्रबारे बुझ्न जति तथ्य बाहिर आएको छ, त्यो नै धेरै छ ।
नेपाली लोकतन्त्रको पछिल्लो तीसवर्षे अभ्यासको एउटा हृदयविदारक व्यंग्य हेरौं । पछि आएर असंवैधानिक रूपमा संसद् विघटनदेखि गिरीबन्धुमा अर्बौंको खेल जस्ता काण्डहरूका नाइके भए पनि केपी ओलीको बायोडाटामा झापा विद्रोह र आन्दोलनको क्रममा वर्षौंको जेल बसाइको इतिहास छ । प्रजातन्त्र लगेर दरबारमा बुझाउनेदेखि अरू अनगिन्ती बेथितिका खलपात्र भए पनि शेरबहादुर देउवासँग दशकौंसम्म प्रजातन्त्रका लागि लडेको इतिहास त छ । र, पछिल्ला दुई दशकका अनियमितता र अस्थिरताका कुपात्र भए पनि सशस्त्र द्वन्द्व गरेर आएको भन्ने इतिहास त प्रचण्डसँग छ । यसरी ठूला आन्दोलन र संघर्षको इतिहासबाट आएका नेताहरू सत्तामा आएपछि भ्रष्ट र अकर्मण्य भएको देखेर आजित भएका जनताले कतै बरु बिनाराजनीतिक सुझबुझ र पृष्ठभूमिको तर पहिल्यै दोहोरो पासपोर्टदेखि सहकारी अपचलन जस्ता कृत्यमा मुछिइसकेको, काण्डैकाण्डको ‘बायोडाटा’ भएको मान्छेलाई सत्तामा पुर्यायो भने उसले बरु प्रायश्चित्तस्वरूप नै भए पनि केही राम्रो गर्छ कि भनेर रविलाई चुनावमा अनुमोदन गरेका त होइनन् ?
संसद्को यस कार्यकालको डेढ वर्षमा देखिएका प्रमाणहरूले प्रस्ट बताइसकेका छन् कि रास्वपाका सभापति लामिछानेको जीवनको अबको प्रमुख ध्येय भनेको उनका चलिरहेका पासपोर्ट र सहकारी अपचलनका मुद्दाहरूमा आफू कसरी जोगिने भन्ने नै हो । त्यसका लागि उनले एमालेका ओलीहरू मुछिएको गिरीबन्धु प्रकरणमा उनीहरूलाई साथ त दिई नै सके । प्रचण्डका हरेक अनियमितता र ‘अति’ लाई उनले साथ नदिनुको पनि उनीसँग विकल्प छैन ।
के थाहा प्रचण्ड र ओलीको तिक्तता थप उचाइमा पुग्यो भने अहिलेको गठबन्धन फेरि कुनै पनि दिन गर्ल्यामगुर्लुम हुन सक्छ । प्रचण्ड र देउवा मिलेर फेरि रास्वपालाई सरकारमा आउन भन्न सक्छन् । त्यतिबेला पनि रास्वपा लुसुक्क परेर सरकारमा जान सक्छ किनकि त्यसो नगरेमा लामिछानेमाथिका मुद्दाहरूले निर्णायक रूप लिन सक्छन् । नयाँ सरकारका महान्यायाधिवक्ताले आफ्ना स्टेटमेन्ट फेर्न सक्छन् । यो सबैको अर्थ के भने, पुराना दलहरूको बेथिति चिर्ने भन्ने नारामा उदाएको रास्वपाको प्रमुख चरित्र नै तिनै पुराना दलका कृत्यहरूलाई अनुमोदन गर्नु र उनीहरूलाई जोगाउने भूमिकामा खुम्चिइसक्यो । यसरी हेर्दा, अहिलेकै रूपमा रास्वपा जतिन्जेल राजनीतिको एउटा शक्तिका रूपमा रहन्छ, त्यसले देशका सबै दललाई थप नराम्रो बनाउन सहयोगी भूमिका मात्र खेलिरहन्छ । सहकारी अपचलन हेर्न बनेको जुन संसदीय समिति छ, त्यसमार्फत एमालेले लामिछानेलाई थप गलाउने नै छ, भविष्यसम्म आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्ने गरी थप बार्गेनिङ पनि पक्कै गर्नेछ । रास्वपाका सांसदहरूको काम ताली बजाएर अनुमोदन गर्ने हुनेछ ।
लेखको सुरुमा ‘ब्रेकिङ ब्याड’ सिरिजको प्रसंग किन ल्याएको भन्ने त अब प्रस्ट भयो होला । यो प्रसंग लामिछानेलाई भन्दा पनि रास्वपाका अरू सांसद र नेताहरूलाई हो, जसले कान्तिपुरका अध्यक्ष सिरोहियालाई थुन्ने जस्तो असहिष्णु र सोझै प्रतिशोधपूर्ण काममा समेत आफ्नो विवेक बन्धक पारिसके । मान्छे निर्णय गरेर पथभ्रष्ट हुने जात होइन, आफैं–आफैं थाहै नपाई हुँदै जाने हो । दुई वर्ष पहिलेसम्म तपाईंहरूसँग भएको आत्मसम्मानको त के अब कुरा, हेर्दै जाऊँ एउटा घटनाले अर्कोमा र अर्कोले अर्कोमा पुर्याउँदै यो संसद्का बाँकी साढे तीन वर्षमा घर फर्कंदा इष्टमित्र र साथीभाइका अगाडि तपाईंहरूको बायोडाटामा के के मात्र थपिनेछ ! कान्तिपुर

