Loktantra Khabar National Weekly
Ad

पक्राउ पुर्जी जारी भएसँगै फरार वडाध्यक्षसहित १३ जना खोज्दै प्रहरी

लोकतन्त्र खबर
१५ जेष्ठ २०८१

जग्गा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान हुँदै

विराटनगर । सरकारी कागज किर्तेको अभियोगमा मोरङको रङ्गेली नगरपालिका–४ का वडाध्यक्ष अवधेश कुमार मण्डलसहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पुर्जी जारी भएसँगै उनीहरू फरार भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले उनीहरूको खोजी भइरहेको जानकारी दिएका छन् । ‘जाहेरीमा नाम आएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ । घट्नाको अनुसन्धानमा प्रहरी लागिरहेको छ’ उनले रातोपाटीसँग भने । उनीहरू विरुद्ध यही जेठ १ गते प्रहरीमा जाहेरी दर्ता भएको थियो ।

स्थानीय ७९ वर्षीय रामप्रसाद साहको नाममा रहेको आमतोलास्थित जग्गा र उद्योग उनका जेठी श्रीमतीलाई बाइपास गरेर कान्छी श्रीमतीको नाममा ल्याउन वडाध्यक्ष मण्डलसहितले कागजात मिलाएको अभियोग लागेको छ । यो कार्यमा संलग्न रहेका गणेश निरौला, मालपोत कार्यालय विराटनगरका तामेली फाँटका प्रमुख तुलसीराम चौधरी, मालपोत कार्यालय रंगेलीका मुद्दा फाँटका प्रमुख अर्जुन घिमिरे, लेखापढी व्यवसायी लोकनाथ निरौलासहित १३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो  ।

साहको नाममा साबिक गाविस रंगेली वडा नं. ८ को नक्सा सिट नं. १७८०७१८ को कित्ता नं.  १५६ र १५७ रहेको २०५ र ३३८.६३ वर्ग मिटरको जग्गा रहेको छ । सोही जग्गामा बजरङ चिउरा उद्योग र घर छ । अहिले यो जग्गा प्रति धुर १० लाख देखि १२ लाखसम्ममा खरिद–बिक्री हुन सक्छ । घर र उद्योगबाहेक जग्गाको मूल्य करिब तीन करोड रुपैयाँ पर्ने स्थानीय बताउँछन् ।

साहको ८ वैशाख २०७९ मा मृत्यु भएको थियो । उनका दुई जना श्रीमती छन् । जेठी श्रीमती कलावती देवी र कान्छी कौशिला देवी साह हुन् । जेठीबाट वीरेन्द्र कुमार साह र कान्छीबाट राज किशोर साहको जन्म भएको छ । उनीहरू छुटिएर बसेका छन् ।

यसरी खुल्यो पोल 

बाबुको जग्गा एकलौटी रूपमा राज किशोरले आफ्नो आमाको नाममा ल्याएको १० महिनापछि मात्रै जेठीपटिका छोरा साहले थाहा पाए । अंशबन्डा नगरी जनप्रतिनिधि र बिचौलियाको सहारामा सुटुक्क जग्गा नामसारी भएको साहले २०८१ वैशाखमा थाहा पाएका हुन् । उनले खोज्दै जाँदा सरकारी कागजपत्र किर्ते गरेको समेत थाहा पाए । त्यसपछि प्रहरी समक्ष सरकारी कागजपत्र र छाप किर्ते मुद्दामा जाहेरी दर्ता भयो ।

कान्छी पटिका छोरा राज किशोरले बाबुको मृत्यु भएको १३ औँ दिनमा एकलौटी रूपमा अंश लिने उद्देश्य राखी रंगेली ४ नं. वडा कार्यालयबाट २१ वैशाख २०७९ मा मृत्यु दर्ता बनाए । जेठीपटिका छोरा वीरेन्द्रलाई २६ भदौ २०६५ मा ५० हजार रुपैयाँ अंश दिएको देखाएर जग्गा आफ्नो नाममा ल्याउन सरजमिन मुचुल्का बनाए, ५ फागुन २०७९ मा ।

मुचुल्कामा निरौला, मण्डल, अनिल, दिनेश  साह, धिरजकुमार र प्रमानन्दले हस्ताक्षर गरिदिए ।

२०८० साउन १७ गते जग्गा र घर नामसारी गरिदिन मालपोत कार्यालय रँगेलिलाई वडाध्यक्ष मण्डलले सिफारिस बनाइदिए । उक्त सिफारिसको आधारमा साउन १८ गते कौशीलादेवीको नाममा जग्गा नामसारी भयो । रातोपाटी 

wada la dako safirash

प्रतिक्रिया दिनुहोस्: