विद्यानन्द राय—
सर्लाही,जेठ १४
मलंगवा नगरपालिका भित्र रहेका औषधी बिक्रेताहरुले मानव स्वास्थ्य सँग खेलवाड गर्दै मान्छेको लागी प्रयोग हुने औषधीसंगै पशुको लागी प्रयोग हुने औषधीहरु पनि बिक्रीवितरण गरेको पाइएको छ।
मलंगवाका केही औषधी बिक्रेताहरु एउटै पसलमा एलोपैथिक र पशुको लागी चाहिने भेटेरिनरी औषधी राखेर बेच्नु कानुनी अपराध मात्रै नभएर सामाजिक अपराध पनि भएको जान्दाजान्दै खुलेआम यस्तो कार्य गर्दै आएको मलंगवाका एक स्थानीयले बताएका छन्।
औषधी विक्रेताहरुले आफ्ना ग्राहकलाई अरुको पसलमा गएर औषधी नकिनोस भन्ने उदेश्यले मेलको रुपमा भेटेरिनरी सम्बन्धि औषधी राख्ने गरेको मलंगवाकै अर्का एक स्थानीयले बताए।
मलंगवाका एक औषधी विक्रेताले(आफ्नो नाम उल्लेख नगरिदिने सर्तमा)यहाँका अधिकांश औषधि पसलेहरुले भेटेरिनरी औषधी राख्ने गरेको दाबी गरेका छन् ।
हामीले मानिसलाई चाहिने औषधी मात्र राखेको तर कतिपय व्यापारी साथीहरुले बढी नाफा कमाउने मनसायले भेटनरी औषधी समेत राख्ने गरेको उनले दाबी गरेका छन्।
औषधी व्यवस्था विभागबाट अनुगमन पनि आउदैन । यदी अनुगमनको लागि आइहालेमा पैसा खुवाएर भित्रैभित्रै मिलाउने गरेको उक्त व्यापारीको कथन रहेको छ ।
औषधी व्यवस्था विभाग कार्यालय वीरगंजका सूचना अधिकारी एवं फार्मेसी अधिकृत सर्फराज अहमद खानले कुनै पनि औषधी व्यवसायीले एउटै पसलमा एलोपेथिक औषधी सँग भेटेरिनरी औषधी राखेर बेचिरहेको पाइएमा नेपालको प्रचलित कानून अनुसार कार्यवाही गर्ने बताए ।
यदी कुनै पसलेले यस्तो गरिरहेको छ भने सोको जानकारी समेत गराउन उनले भने।

