Loktantra Khabar National Weekly
Ad

फाइभ जी इन्टरनेट सेवाको पर्खाइ

लोकतन्त्र खबर
११ जेष्ठ २०८१

नेपालले पूर्ण क्षमताको फोर जी देशव्यापी विस्तार गरिसक्दा अरू मुलुकमा थप नयाँ पुस्ताको मोबाइल इन्टरनेटको प्रयोग सुरु भइसकेको हुन्छ । अहिले फाइभ जी चल्ने मोबाइल डिभाइस नै न्यून छ भनेर व्यावसायिक सेवा थाल्न नै ढिला गर्नु युक्तिसंगत हुँदैन ।

विश्वमा द्रुत गतिको मोबाइल इन्टरनेट ‘फाइभ जी’ को व्यावसायिक सेवा सुरु भएको पाँच वर्ष बितिसकेको छ । प्रविधिमा समुन्नत कतिपय मुलुक छैटौं पुस्ताको (सिक्स जी) सेवाका लागि जुटिरहँदा हामीकहाँ भने फाइभ जीकै व्यावसायिक सुरुवात कहिले हुन्छ भन्ने टुंगो छैन ।

नेपाल टेलिकमले चार वर्षअघि नै दूरसञ्चार प्राधिकरणबाट फाइभ जी परीक्षणका लागि फ्रिक्वेसीसहित अनुमति पाएको थियो । परीक्षण प्रतिवेदन नै अहिलेसम्म प्राधिकरणले पाएको छैन । छिमेकी मुलुकहरूले नै तीव्र रूपमा फाइभ जी सेवा विस्तार गरिरहेका बेला नेपाल भने अझै अलमलमै रहनु उदेकलाग्दो छ ।

दूरसञ्चार प्राधिकरणले २०७७ चैतमै नेपाल टेलिकमलाई फाइभ जी परीक्षण गर्ने अनुमति दिएको थियो । परीक्षणका लागि प्राधिकरणले बढीमा एक वर्षसम्मका लागि २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी टेलिकमलाई निःशुल्क उपलब्ध गराएको थियो । परीक्षणमा प्रयोगकर्तालाई निःशुल्क फाइभ जी चलाउन दिनुपर्ने, परीक्षण अवधि सकिएपछि फ्रिक्वेन्सी फिर्ता लिने, परीक्षणका लागि स्वीकृति दिएको तीन महिनासम्म पनि उपकरण आयात र जडानको प्रगति नदेखिए प्राधिकरणले स्वीकृति फिर्ता लिन सक्नेजस्ता प्रावधानसहित फाइभ जी कार्यविधि बनाइएको थियो ।

तर दुई वर्षपछि २०७९ माघ २२ मा मात्र टेलिकमले थालेको परीक्षणमा पनि विज्ञहरूले संशय गर्दै आएका छन् । टेलिकम काठमाडौंको बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयबाट फाइभ जी परीक्षण थालेको घोषणा गरेको थियो । तर फाइभ जी सुविधा भएका मोबाइल प्रयोगकर्ताले टेलिकमको परीक्षणको सुइँको समेत पाएनन् । पछि टेलिकमले पोखरा र वीरगन्जमा पनि आन्तरिक परीक्षण भएको दाबी गर्दा धेरैले विश्वास गरेनन् । परीक्षण कसरी भयो, त्यसको अनुभव कस्तो रह्यो, नतिजा के आयो भन्ने प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छ्रैन । प्राधिकरणले भने फाइभ जीको व्यावसायिक सेवा विस्तारमा जान ढिला भइरहेको निष्कर्षसाथ टेलिकमसँग पत्राचार गरेरै प्रतिवेदन मागेको छ । उता आफूहरूलाई परीक्षण अनुमति नदिएर असमान व्यवहार गरिएको गुनासो गर्दै आएको निजी सेवाप्रदायक एनसेलले फाइभ जी भिजनका रूपमा नयाँ डेटा प्लान सार्वजनिक गरिसकेको छ ।

फाइभ जी इन्टरनेटको पछिल्लो पुस्ता हो । पहिलो पुस्ता वान जी आएको साढे चार दशक हुनै लागेको छ । विश्वमा फोर जी सेवा सुरु भएको पनि डेढ दशक नाघेको छ । तर फोर जीको व्यावसायिक सेवा सुरु पनि नेपालमा निकै ढिला गरी भएको थियो । फोर जीका कारण अहिले स्मार्टफोन सानो कम्प्युटरसरह अवस्थामा पुगेको छ । यसले काम गर्ने शैलीमा रूपान्तरण ल्याएको छ । मोबाइलको एपमार्फत डिजिटल कारोबार गर्ने संख्या नेपालमै तीव्र रूपमा बढिरहेको छ । खरिद वा कुनै सेवा लिन घण्टौं लाइन बस्नुपर्ने, धाउनुपर्ने अवस्था बदलिँदै छ । तीव्र गतिको इन्टरनेट (फाइभ जी) ले डिजिटल व्यवहारमा थप परिवर्तन ल्याउन सक्छ, नयाँ अवसरहरू सिर्जना गर्न सक्छ । फाइभ जीले व्यवसायमा सघाउने भएकाले मुलुककै अर्थतन्त्रमा प्रभाव पार्न सक्छ ।

अहिले नेपालमा थ्री जी इन्टरनेटकै प्रयोगकर्ता उल्लेख्य छन् । गत वर्ष साउनसम्म थ्री जी प्रयोगकर्ताको संख्या ७७ लाख १८ हजार २ सय ८४ थियो । थ्री जीबाट फोर जीमा सर्नेको संख्या तीव्र रूपमा बढिरहेको छ । फाइभ जी सेवा विस्तारमा अघि बढ्दै जाँदा सञ्चालनमै रहेको फोर जी सेवाको थप विस्तार र गुणस्तर सुधारलाई भुल्नु हुँदैन । मुलुकभर फोर जी सेवा विस्तार गरिसकेर मात्र फाइभ जीमा जाने सोचियो भने नेपाल मुलुकसँगको प्रतिस्पर्धामा उति पछाडि छुट्छ ।

नेपालले पूर्ण क्षमताको फोर जी देशव्यापी विस्तार गरिसक्दा अरू मुलुकमा थप नयाँ पुस्ताको मोबाइल इन्टरनेटको प्रयोग सुरु भइसकेको हुन्छ । अहिले फाइभ जी चल्ने मोबाइल डिभाइस नै न्यून छ भनेर व्यावसायिक सेवा थाल्न नै ढिला गर्नु युक्तिसंगत हुँदैन । फोर जीका सन्दर्भमा पनि सेवा सुरु भएपछि नै त्यसको सुविधा भएको मोबाइलको संख्या ह्वात्तै बढेको थियो । त्यसैले सरकारले आवश्यक पूर्वाधार तयार गरिदिएर मुख्य ठूला सहर हुँदै फाइभ जीको व्यावसायिक सेवा थालनी गरेर जतिसक्दो चाँडो विस्तार गर्दै अघि बढ्नुपर्छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: