काठमाडौं । पछिल्लो समय विवाह गर्ने उमेर पछाडि धकेलिइरहेको छ । ढिलो उमेरमा विवाह गर्ने र दाम्पत्य जीवन परिपक्व भएपछि मात्र सन्तान जन्माउने चलन छ । तर चिकित्सकहरू भने गर्भधारणका लागि एउटा निश्चित उमेर राम्रो हुने बताउँछन् । ढिलो उमेरमा सन्तानको योजना बनाउँदा आमा र बच्चामा विभिन्न समस्या देखापर्ने उनीहरुको भनाइ छ ।
ढिलो सन्तान जन्माउँदा महिलाको राम्रो अण्डाहरूको संख्या कम हुने र कम गुणस्तरको हुने भएकाले यसको कारण विभिन्न जटिलता निम्तिन सक्ने डेभलपमेन्ट पेडियाट्रिसियन डा. अनिल ओझा बताउँछन् ।
‘ढिलो बच्चा जन्माउँदा पहिलो त बच्चा नै नबस्ने समस्या निम्तिन सक्छ । बच्चा भएपनि विकलाङ्ग हुने, सुस्त हुने सम्भावना हुन्छ भने आमामा मधुमेह, प्रेसर जस्ता समस्या पनि देखा पर्न सक्छ,’ उनी भन्छन् ।
साथै ढिलो उमेरमा सन्तान जन्माउँदा बच्चामा अटिजमको जोखिम हुनसक्छ । हुन त अटिजम यही कारण हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको त छैन । तर यो वंशाणुगत र वातावरणीय कारणले देखा पर्न सक्छ, जसले गर्भमा हुर्किने बच्चाको मस्तिष्कको विकासमा बाधा पुग्ने डा. ओझा बताउँछन् ।
‘अटिजमलाई मेडिकल भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ । यो एक विकाससम्बन्धी विकार हो, जसकारण प्रभावित व्यक्तिलाई बोल्न, पढ्न, लेख्न र सामाजिक बन्न कठिनाइ हुन्छ,’ उनी भन्छन्, ‘अटिजम यस्तो अवस्था हो, जसमा यसबाट पीडित व्यक्तिको मस्तिष्कले अन्य व्यक्तिको मस्तिष्कभन्दा फरक ढंगले काम गर्छ । अटिजमबाट पीडित व्यक्तिहरू पनि एकअर्का भन्दा फरक हुन्छन् । यसको मतलब अटिजमका विभिन्न बिरामीले फरक-फरक लक्षणहरू अनुभव गर्न सक्छन् ।’
ढिलो उमेरमा बच्चा जन्माउँदा अटिजमको जोखिम किन हुन्छ ?
महिलाले जन्मिंदा नै पाठेघरमा निश्चित अण्डाहरू लिएर आएका हुन्छन् । ती अण्डाहरू उमेरअनुसार बिस्तारै सकिंदै जान्छन् । ३० देखि ३५ वर्षपछि अण्डाहरू घट्दै जान्छन् । ३५ वर्ष भन्दा पछिका महिलामा आवश्यक हार्मोन र अण्डाको कमी हुने, अण्डाको गुणस्तरमा कमी हुने हुन्छ । यस्तोमा अण्डामा आनुवंशिक परिवर्तन हुन्छ । जसले गर्दा क्रोमोजोमल समस्या जस्तो डाउन सिन्ड्रोम, अटिजम लगायतका समस्या निम्तिने जोखिम हुने डा. ओझा बताउँछन् ।
उनी भन्छन्, ‘बढ्दो उमेरमा महिलामा मधुमेह र उच्च रक्तचाप, थाइराइड जस्ता रोगको जोखिम पनि बढ्छ । यस्ता समस्याले पनि आमा र बच्चामा विभिन्न समस्या निम्तिने जोखिम हुन्छ ।’
विभिन्न अध्ययनहरूले पनि ढिलो उमेरमा बच्चा जन्माउँदा अटिजमको जोखिम हुने सम्भावना बढ्ने देखाएका छन् । न्युयोर्कको माउन्ट सिनाईमा रहेको आइकान स्कुल अफ मेडिसिनले गरेको एक अध्ययनले आमाबुबाको बढ्दो उमेरले बालबालिकामा अटिजमको जोखिम बढाउँछ भन्ने खुलासा गरेको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार ५० वर्षभन्दा माथिका बुबाबाट जन्मिएका बालबालिकामा अटिजम हुने दर ६६ प्रतिशतले बढेको पाइएको छ भने ४० देखि ५० वर्षसम्मका बुबाबाट जन्मिएका बालबालिकामा अटिजमको दर २८ प्रतिशतले बढेको पाइएको छ ।
२० देखि ३० वर्ष उमेरका आमाबाट जन्मेका बालबालिकाको तुलनामा ४० देखि ५० वर्षसम्मका आमाबाट जन्मेका बालबालिकामा अटिजमको दर १५ प्रतिशत बढी थियो ।
अमेरिकाको जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थले गरेको यस अध्ययनका प्रमुख लेखक सियाओबिन वाङका अनुसार गर्भवती महिलाका लागि मोटोपन र मधुमेह राम्रो होइन । दुवै समस्याबाट पीडित महिलामा विकास हुने बालबालिकाको न्युरोडेवलपमेन्ट लामो समयसम्म प्रभावित हुनसक्छ ।
यस अनुसन्धानमा सन् १९९८ देखि २०१४ सम्म करिब २ हजार ७३४ आमा र उनीहरूका सन्तानको अध्ययन गरिएको थियो । अध्ययनका क्रममा करिब १०० बालबालिकामा मोटोपन र मधुमेहका कारण हुने अटिजम स्पेक्ट्रम डिसअर्डर भएको पाइएको थियो । यस अध्ययनका अर्का लेखक एम डेनियल फलिनका अनुसार अटिजमको जोखिम भ्रूणबाट सुरु हुन्छ ।
बच्चालाई अटिजम छ कि छैन भनेर गर्भमै पत्ता लगाउन सकिंदैन
बच्चाले अरूसँग कुरा नगरेसम्म अरूको कुरा सुनेर प्रतिक्रिया नजनाएसम्म बच्चामा अटिजम भए नभएको पत्ता लगाउन सकिंदैन । यस्तोमा बच्चा पेटमै हुँदा यो समस्या पत्ता लग्दैन । कुनै पनि जाँचबाट अटिजमलाई पत्ता लगाउन सकिंदैन । बच्चा जन्मिएपछि उसको बानी व्यवहार र लक्षणहरू याद गरेर मात्र यो समस्या पत्ता लाग्ने डेभलपमेन्ट पेडियाट्रिसियन डा. ओझा बताउँछन् ।
बच्चामा अटिजमको अन्य कारण
डाउन सिन्ड्रोम भएका बालबालिकामा पनि अटिजम हुने सम्भावना हुन्छ । गर्भावस्थामा आमालाई उच्च रक्तचाप, थाइराइडको समस्या छ भने बच्चालाई अटिजमको जोखिम हुन सक्ने डा. ओझा बताउँछन् । ‘गर्भावस्थामा आमाले चुरोट, रक्सी खान्छिन् भने उनीबाट जन्मिने बच्चालाई पनि अटिजम हुने सम्भावना हुन्छ,’ उनी भन्छन् ।
समयभन्दा अघि नै बच्चा जन्मियो वा बच्चा जन्मिने बित्तिकै आईसीयू वा भेन्टिलेटरमा लामो समय राख्नुपर्यो भने उनीहरूमा यो समस्या देखिन सक्छ । गर्भावस्थाको समयमा आमाले खाएका केही औषधिहरूको साइड-इफेक्टका कारण पनि बच्चामा अटिजम हुनसक्ने डा. ओझा बताउँछन् ।
उपचार सम्भव छ कि छैन ?
अटिजम अपाङ्गता होइन, मस्तिष्कको विशेष अवस्था हो । अटिजम कुनै रोग नभएकाले औषधिबाट निको हुन्छ भन्ने हुँदैन । यसको मुख्य उपचार भनेको थेरापी, त्यसमा पनि व्यवहार थेरापी उत्तम हुने डा. ओझा बताउँछन् ।
‘अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, संगीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुन्छ । सही उपचार दिइयो भने लक्षण नियन्त्रण गर्न सकिन्छ र धेरै हदसम्म यस्ता व्यक्तिले सामान्य जीवन बिताउन सक्छन्,’ डा. झा भन्छन् ।
अटिजमको समस्या जीवनभर रहन्छ, त्यसैले यो समस्या निम्तिने कारकहरूलाई ध्यान दिएर बच्चालाई यो समस्या हुनबाट बचाउनुपर्छ । अटिजमबाट बच्न बच्चाको योजना बनाउनुअघि चिकित्सकसँग आवश्यक परीक्षण र पारिवारिक इतिहासबारे छलफल गर्न डा. ओझा सुझाउँछन् ।
ढिलो उमेरमा बच्चा जन्माउने योजना बनाउँदा बच्चालाई अटिजमको जोखिम बढ्छ । त्यसैले सही उमेरमा बच्चा जन्माउने योजना बनाउनुपर्छ । साथै गर्भावस्थामा चुरोट, रक्सी नखाने, पोषक तत्त्व भएका खानेकुरा खाने, तब मात्र बच्चाको दिमागको विकास राम्ररी हुन्छ र अटिजमको जोखिम कम हुने डा. ओझा बताउँछन् । अनलाइन खबर