Loktantra Khabar National Weekly
Ad

बागमती विश्वविद्यालयको संरक्षक समितिमा दुई सदस्य नियुक्त

लोकतन्त्र खबर
३ जेष्ठ २०८१

हेटौँडा । बागमती विश्वविद्यालयको संरक्षक समितिमा २ जना सदस्य नियुक्त भएका छन् । बुधवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बागमती विश्वविद्यालयको संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज) मा २ जना सदस्य नियुक्त गरेको हो ।

बैठकले संरक्षक समितिको सदस्यमा प्रा.डा.चन्द्रमणि पौडेल र कृष्ण कटुवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश विकास परिषद्मा सदस्यहरू मनोनयन गर्ने निर्णय गरिएको छ ।

एक तिहाइ महिला रहने गरी २५ सदस्यहरू उक्त परिषद्मा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रचलित कानुन बमोजिम स्थापना भएका संस्थाका प्रतिनिधि र निजी क्षेत्रका तथा विभिन्न वर्गबाट राष्ट्रका लागि योगदान गरेका व्यक्ति सदस्य रहने व्यवस्था गरिएको छ । सो परिषद्को सदस्य भने निर्धारण गरिएको छैन ।

सहिद स्मारक प्रकृति प्रतिष्ठान थानकोटको व्यवस्थापन गर्ने जिम्मेवारी तोक्ने निर्णय गरेको छ । सङ्घीय सरकार मातहत रहेको उक्त स्मारक प्रदेश सरकार मातहत रहने गरी व्यवस्थापकीय जिम्मेवारी तोकिएको मन्त्री श्रेष्ठले बताए ।

प्रदेश खेलकुद नियमावली २०७६ को दोस्रो संशोधन स्वीकृत गर्ने निर्णय गरिएको छ । यसअघि गत २०७८ मा गरिएको पहिलो संशोधनले गरेको जिल्ला खेलकुद विकास समितिको अध्यक्षको कार्यकाल २ वर्ष कायम गरेको थियो । उक्त प्रावधानलाई परिमार्जन गरी अध्यक्षको जिम्मेवारी चार वर्ष कायम गर्नु नियमावली संशोधन गरिएको मन्त्री श्रेष्ठले बताए ।

बैठकले प्रदेश कामकाजी भाषा ऐन २०८० को कार्यान्वयनको लागि सुझाव कार्यदल गठन गर्न र सो कार्यदलको सेवा सुविधा तथा शर्त सम्बन्धी व्यवस्था गर्ने निर्णय गरिएको छ ।

सो कार्यदलको संयोजक संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका सचिवको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव र भाषा आयोगले तोकेको प्रतिनिधि, अध्यक्ष नेपाल तामाङ घेदुङ सङ्घ सङ्घीय कार्यकारी समिति, अध्यक्ष नेवा: दवु सदस्य, रहने व्यवस्था रहेको छ भने संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयका संस्कृति पर्यटन महाशाखा हेर्न अधिकृत सदस्य सचिव रहने छन् ।

बैठकले प्रदेश कला सम्पदा तथा संस्कृति संरक्षण सम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृत दिने निर्णय गरेको छ । रातोपाटी संवाददाता

प्रतिक्रिया दिनुहोस्: