Loktantra Khabar National Weekly
Ad

उपेन्द्र यादव र राज्यमन्त्री कार्कीले छाडे सरकार

लोकतन्त्र खबर
३१ बैशाख २०८१

उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्।

जनता समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले सोमबार बिहान राजीनामा दिएका हुन्। उनी विगत दुई महिनादेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा थिए।

सेतोपाटीसँग कुराकानी गर्दै अध्यक्ष यादवले आफूहरूले सरकार छाडेको बताए। जसपा नेपालबाट संघीय सरकारमा यादव र वन तथा वातावरण राज्यमन्त्रीमा सांसद दीपक कार्की सामेल थिए।

जसपा नेपालबाटै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका थिए।

वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्।

‘विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा पदबाट राजीनामा दिन चाहन्छु,’ यादवले दिएको राजीनामा पत्रमा उल्लेख छ।

जनता समाजवादी पार्टी नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद अलगिएर जनता समाजवादी पार्टी गठन गरेका थिए।

जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) आइतबार बाहिरिएका थिए।

जसपा नेपालले महाधिवेशन र बदलिएको राजनीतिक घटनाक्रमबारे सोमबार केन्द्रीय समिति बैठक पनि राखेको छ। केन्द्रीय समिति बैठकअघि नै जसपाका दुई मन्त्रीले राजीनामा बुझाएका हुन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: