मनोज यादव—
सर्लाही,बैशाख २८
विद्यालयलाई देशका लागि असल नागरिक उत्पादन गर्ने थलो र शिक्षकलाई असल मार्गदर्शकको रुपमा हेर्ने गरिन्छ। विद्यार्थीलाई कस्तो शिक्षादीक्षा दिने भन्ने शिक्षकको हातमा हुन्छ ।
तर,मधेस प्रदेश अन्तर्गतको सर्लाही जिल्लाका २० वटै स्थानीय तह मातहतका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या निकै कम छ। जसले गर्दा शिक्षण सिकाई क्रियाकलापहरु प्रभावित हुँदै आएको छ।
विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थी संख्याको अनुपातमा शिक्षक संख्या निकै नै कम रहेकोले विद्यार्थीको चाप अनुसार कक्षा व्यवस्थापन गर्न समस्या भइ शिक्षण–सिकाइ क्रियाकलाप प्रभावकारी हुन नपाउँदा बालबालिकाहरु गुणस्तरीय शिक्षाबाट वञ्चित हुनुपरेको चन्द्रनगर गाउँपालिका,बबरगंजका अभिभावक सुरेश महतो बताउँछन् ।
विद्यालयमा दरबन्दी अनुसारको शिक्षक कमीले कक्षागत शिक्षक नपुुग्ने, मावि र निमाविमा विषयगत शिक्षकको अभाव हुुनेलगायतका समस्या देखिएको साह बताउँछन् ।अधिकांस विद्यालयहरूले निजी श्रोतमा न्यून तलब दिएर शिक्षकहरु राख्ने गरेका छन् ।
जिल्लामा ४ सय ५१ सामुदायिक विद्यालय रहेकामा दुई हजार ३ सय ८८ स्विकृत शिक्षक दरबन्दी तथा शिक्षक अनुदान कोटा(राहत) रहेका छन् भने विद्यार्थी संख्या र विषयगत आधारमा न्युनतम आवश्यक दरबन्दी ५ हजार ३ सय १७ रहेको छ।
जिल्लामा अहिले पनि २ हजार ९ सय ३९ शिक्षक दरबन्दी अपुग रहेको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए। ति सबै सामुदायिक विद्यालयमा २ लाख ३४ हजार १६३ विद्यार्थीहरु रहेका छन् ।
सरकारले निर्धारण गरेको मापदण्डअनुसार हेर्दा यहाँका विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक संख्या अपुग रहेका छन् ।
रिक्त शिक्षक दरबन्दी पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको प्राविधिक सहायक कुशवाहाको भनाइ छ ।
जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा शिक्षा र अध्यापनमा सुधार हुन सकेको छैन ।
शिक्षक अपुग हुँदा निजी स्रोत र स्वयंसेवक शिक्षकको भरमा यहाँका विद्यालयहरु संचालन भइरहेका छन् ।

