Loktantra Khabar National Weekly
Ad

बदलिरहेको विश्व, छुटिरहेको नेपाल

लोकतन्त्र खबर
२८ बैशाख २०८१

नेपालमा कस्तो समाजवाद वा पुँजीवाद भन्ने बहस सुन्दा धनी हुँदै गरेका देशका मानिस कति हाँसिरहेका होलान् ? जबकि तीन दशकमा प्रविधिका कारण संसारभरका उत्पादनका ढााचा फेरिइसके । प्रविधि आधारित आर्थिक क्षेत्रले अर्बपतिहरू जन्माउन थाले ।

संसार नफेरिएको त कहिल्यै छैन । हरेक युगका मानिसलाई यस्तो लागेको हुन सक्छ कि सायद संसार सबैभन्दा बढी आफ्नै पालामा फेरिइरहेको छ । यो सम्भाव्यताप्रति सचेत हुँदै गर्दा पनि पंक्तिकारको अवलोकनमा हामीले बाँचिरहेको यही दशकमै संसारका केही विशेषता यति असाधारण रूपमा परिवर्तन भएका छन्, जसले गर्दा देश वा राष्ट्रभन्दा जे बुझाइ राखिन्थ्यो, त्यो समेत कताकता फेरिइरहेको छ ।

देशलाई चलाउने वैधानिक संयन्त्रलाई ‘सरकार’ भनिन्छ, त्यो सरकार भनिने चिजको बुझाइ नै अर्कै हुँदै छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को यो युगलाई अब एक्काइसौं शताब्दी मात्र भन्नु पनि पुरानो र अपर्याप्त जस्तो सुनिन थालेको छ । पृथ्वी चल्ने गति र ब्रह्माण्डीय चाल त उस्तै होलान् तर पृथ्वीभित्रका मानिसको सांसारिक गति दशकअघि भन्दा तीव्र भएको छ ।

यस वेगवान् विषयका असीमित आयाममध्ये धेरै चर्चा गर्न यो सीमित ‘स्पेस’ मा सम्भव छैन । त्यसैले फेरिइरहेको संसारका केही उदाहरणको सन्दर्भ उल्लेख गरेपछि यस स्तम्भको ध्यान यस्तो बदलिँदो सांसारिक परिदृश्यमा ‘कोप’ गर्न नेपाल किन छुटिरहेको होला भन्नेमा हुनेछ । सुरुवातचाहिँ यस विषयको ऐतिहासिकीको छोटो चर्चाबाट गरौं ।

पढ्नैपर्ने ठानिएका तर पढ्न ढिलो भएका ‘मास्टरपिस’ किताब कति छन् कति । तिनैमध्ये एक थियो प्रतिष्ठित अमेरिकी वैज्ञानिक र इतिहासकार जरेड डायमन्डले १९९७ मै लेखेको ‘गन्स, जर्म्स एन्ड स्टिल’ । यसमा लेखकले विभिन्न महादेशभित्रका देश र समाजमध्ये किन कोही अगाडि बढे र किन कोही पछि परे भनेर विगत १३ हजार वर्षको लेखाजोखा पस्केका छन् । हुन त ‘अगाडि बढ्नु’ भनेको के हो र केलाई ‘पछाडि पर्नु’ मान्ने दृष्टिकोणका कुरा हुन् । चलनचल्तीका भाषामा विगत ५०० वर्षको इतिहासलाई मात्र हेर्ने हो भने युरोप र अमेरिका ‘अगाडि’ बढेका समाज भए भने पहिले जति समृद्ध भए पनि चीन, भारतलगायत एसिया, अफ्रिका आदि ‘पछाडि’ परेका भए । मानौं त्यो भएको सबै युरोपको उपनिवेशले गर्दा हो रे ! त्यसो भए समृद्ध भारत र चीनले जाडोमा कठ्यांग्रिएर बाँचेका युरोपियनलाई किन आफ्नो उपनिवेश बनाएनन् त ? नचाहेर हो कि नसकेर ? अनि कोलम्बस पुग्नुअघि नै अमेरिकाका ‘न्याटिभ’ हरूले किन युरोपतिर आएर उसलाई आफ्नो उपनिवेश बनाउन सकेनन् त ?

सभ्यताको क्रममा किन कोही समाज एकथरी भए र किन कोही अर्काथरी ? किन अफ्रिकाका काला र युरोपका गोरा भए ? जापानिज र कोरियन एकनासका देखिने भए पनि कहिलेबाट के कारणले फरक हुँदै गए ? चीनका मानिस कसरी ‘चाइनिज’ भए, किन कुनै जनावरलाई मानिसले तह लगाउन सक्यो, अरूलाई सकेन भनेर गरिएको मानव इतिहासको विहंगम अनुसन्धान यति प्रभावशाली थियो कि युवल नोहा हरारीलाई ‘स्यापिएन्स’ जस्तो किताब लेख्न यही पुस्तकले उत्प्रेरित गरेको थियो । ठाउँठाउँका मानव समाज र देशका ‘भाग्यरेखा’ इतिहासका कुन कुन संयोगले कसरी कोरिएका हुन् भनेर सशक्त ‘थेसिस’ र ‘हाइपोथेसिस’ पस्कने डायमन्डको यस ऐतिहासिक पुस्तक पढ्दा सबैभन्दा रोचक के लाग्यो भने– इतिहासमा मानिस जहिले पनि एक ठाउँबाट अर्कोमा हिँडेको हिँड्यै छ । यसरी हिँड्दै, समाज बनाउँदै गरेका मानिसका समूह तीन–चार सय वर्षदेखि विभिन्न देशका ‘नागरिक’ बनाइएका छन् । त्यस प्रक्रियामा तत्तत् देशभित्र परेका मानिसले आफू–आफू एक भएर ‘अगाडि बढ्ने’ भन्ने अवधारणालाई राष्ट्रियता भनिएको छ ।

‘गन्स, जर्म्स एन्ड स्टिल’ को यो सन्दर्भ जोड्दै अब लेखको मूल विषयमा फर्कौं । इतिहासदेखि देखिएको छ, यो संसारमा मान्छेका थरीथरीका जति समाज र देश छन्, तिनीहरू कसैले कसैलाई पर्खंदैनन् । एकअर्काबारे जान्न उत्सुक होलान् तर कोही कसैका ‘साथी’ होइनन् । सबै सबैका लागि ‘मार्केट’ हुन्, साधन हुन् । सत्तरी–असी वर्षअघि नेपालमा प्रजातन्त्र आउँदै गर्दा धेरै देश उपनिवेशबाट स्वतन्त्र हुँदै थिए । बीस–पच्चीस वर्षअघि नेपाल सशस्त्र द्वन्द्वबाट गुज्रँदै गर्दा एसियाकै धेरै देशले आर्थिक फड्को मार्दै थिए । नयाँ संविधान कस्तो बनाउने र कसरी कार्यान्वयन गर्ने (वा नगर्ने) भनेर ‘नेताहरू’ माथापच्ची गरिबस्दा संसारका धेरै देश भने सरकार भनिने संयन्त्रको चरित्र फेरिँदै गएको साक्षी बस्दै थिए । सरकार नामको संरचनाले गर्ने कामका प्रकृति फेरिँदै थिए ।

हावापानी वा सांस्कृतिक कारणले एउटा देशमा जन्मने मानिसभन्दा अर्कोमा (वा नेपालमा) जन्मने बढी भ्रष्ट हुन्छन् होला त ? इतिहासका प्रमाणको आलोकमा हेर्दा यसको उत्तर एउटै हुँदैन । चार–पाँच हजार वर्षपहिले नै ‘देवभूमि’ कहलिएको थियो भनिएको नेपाली भूभागमा के अब वैभव कहिल्यै फर्कंदैन होला ? एक खाले मात्र अनुमान गर्न सकिँदैन । तर वर्तमान अवस्थामा संसार कुन गतिमा कता गइरहेको छ र नेपाल कस्तो अगतिमा कता अल्मलिएको छ भनेर देखिने केही उदाहरण प्रस्ट छन् । त्यससँगै, आमनेपाली मानसिकतालाई बन्धक बनाइराखेका चिर्नैपर्ने केही ‘मिथ’ त छँदै छन् ।

पुँजीवाद, समाजवाद या यस्तै अरू वाद भनेर कुनै एकापट्टि वा अर्कोपट्टि भावुक हुनु जरुरी छैन । इतिहासमा राज्यहरू बन्नुभन्दा धेरै हजार वर्षपहिले पनि मान्छेले उत्पादन गर्थ्यो, व्यापार गर्थ्यो । व्यापार गर्दैगर्दा बीचमा आएर राष्ट्र–राज्य बनेका हुन् । राष्ट्र–राज्य बनिसकेपछि पनि मान्छेले व्यापार गर्न छाडेन, झन् बढायो । संसारमा राष्ट्र भनिने पुग, नपुग दुई सय जुन राजनीतिक इकाइ छन्, ती सबै प्रकारान्तरले व्यापारिक संरचना हुन् । युरोपेली राजनीतिक उपनिवेश खडा भएको मूलतः व्यापार र स्रोतकै लागि थियो । उत्तर–औपनिवेशिक कालमा व्यापार गर्ने तरिका बदलिएका मात्र हुन् । उत्पादन र व्यापार बढाएपछि देश धनी हुन्छ, स्रोत भएपछि त्यसैका आधारमा उसले बाह्य रूपमा सामरिक प्रभुत्व बढाउँछ । बढाएको सामरिक प्रभुत्वको आधारमा उसले थप व्यापार गर्छ । र, यो चक्र लामो समयसम्म घुमिरहन सक्छ । अमेरिकाले पचासौं वर्षदेखि गरिआएको त्यही नै हो, चीनले दशकौंदेखि सुरु गरेको पनि यही हो । व्यापारबाहेक राज्यका सामूहिक सांस्कृतिक भावना, इतिहास र पहिचानजन्य तत्त्व त हुन्छन् तर मूलतः स्रोत नजुटाउने देश–समाज कमजोर हुँदै गएर कतिपय बिलाउँदै जान्छन् । यसलाई कतिपयले इतिहासको नियम भन्न पनि सक्छन् ।

यति भनिसकेपछि अब सरकार भनेको के हो त भनेर हेरौं । सरकार भनेको सम्बन्धित राजनीतिक भूगोललाई प्रतिस्पर्धात्मक रूपमा अरू ठाउँभन्दा बढी बस्न लायक बनाउने यन्त्र हो । सरकार चलाउनु वा ‘गभर्न’ गर्नु भनेको सम्बन्धित ठाउँमा बस्ने मानिसबाट कर उठाएर तिनैको जीवन सहज बनाइदिने ‘जागिर गर्नु’ हो । राष्ट्रियता भनेको इतिहासका अनगिन्ती संयोगले एउटा भूगोलमा निश्चित समय सँगै बस्दा विकास भएका संस्कृतिहरूको सामूहिक अभिव्यक्ति हो । देश बनेर सिमानामा कडाइ नगरुन्जेल इतिहासभर मानिस एक ठाउँबाट अर्कोमा सरेकै हुन् । अहिले त्यो क्रम रोकिएको छैन, भविष्यमा पनि सायद रोकिने छैन । यो सबै कसैले कसैलाई दया र माया गरेर होइन, एकअर्काको आवश्यकताको आधारमा भइरहेको छ । जस्तो, खाडी, मलेसिया र कोरियालाई काम गर्ने जनशक्ति चाहिएको छ, नेपालीलाई रोजगारी । क्यानडा र अस्ट्रेलियालाई अर्थतन्त्र बलियो बनाउन थप पैसा कमाउनुपरेको छ, नेपाल जस्ता गरिब देशका विद्यार्थीलाई पैसा तिरेर आफ्नो देशमा बोलाएर । गरिब देशका विद्यार्थी भोलि त्यतै बस्न पाइएला कि भनेर अहिले बाउआमाको घर बैंकमा धितो राखेर जानुपरेको छ ।

यदि धनी भइसकेका र हुने दिशामा भएका देशको राष्ट्रियता त्यहाँका जनताका लागि राम्रो हो भने नेपालको राष्ट्रियता एक हिसाबमा ‘प्रिमिटिभ’ चरणमै छ । नेपालमा कस्तो खालको समाजवाद कि पुँजीवाद भन्ने राजनीतिक वृत्तका बहस सुन्दा धनी हुँदै गरेका देशका मानिस कति हाँसिरहेका होलान् ? जबकि गएको तीन दशकमा प्रविधिका कारण संसारभरका उत्पादनका ढाँचा फेरिइसके । प्रविधि आधारित आर्थिक क्षेत्रले अर्बपतिहरू जन्माउन थाले । संसार नै तीव्र गतिमा डिजिटल हुँदै गयो । व्यापार बढ्दो स्केलमा ‘अनलाइन’ हुँदै गयो । ‘एआई’ ले समयलाई ‘च्याटजिपिटी’ को युगमा पुर्‍याइसक्यो । खपतका वस्तुहरू नयाँ भइसके, औद्योगिकीकरणका परिभाषा फेरिए, अर्थतन्त्रका बनोट बदलिए । यो सबै सँगै सरकारले गर्ने काम पनि ‘इभोल्भ’ हुँदै गयो । सरकारका विभागहरूको नेतृत्व गर्न जाने मानिसहरूका ‘टीओआर’ फेरिएसँगै उनीहरूमा चाहिने दक्षता स्वतः नयाँ हुने भए । राजनीतिक नेतृत्वको काम सहजीकरण गर्नेतिर ढल्किँदै गयो, चाहे त्यो चीन र भियतनामजस्ता राजनीतिक प्रणाली भएका देशमा होस् वा धेरथोर लोकतन्त्र भएका थाइल्यान्ड र मलेसिया जस्ता देशमा ।

रफ्तारमा बदलिरहेका संसारका यी धारबाट नेपाली युवा मात्रै होइन, हाम्रो बृहत् समाज नै प्रभावित भइरहेको छ । नेपालीका आप्रवासनका कथा, विद्यार्थी भएर स्थायी रूपमा परदेश भासिने सपना र रोजगारीका अवसर संसारभर जहाँ पाइन्छन्, त्यतै सर्ने प्रयास विगतका वर्ष कहिल्यै रोकिएका छैनन् । रोकिएको केही छ भने त्यो नेपालको राजनीतिक वर्गहरूको सोच्ने प्रणाली हो, जुन कम्तीमा तीन दशक प्राचीन छ । हाम्रो सार्वजनिक राजनीतिक ‘डिस्कोर्स’ अमूर्त ‘जार्गन’ हरूमा जकडिएको छ । संसारका धेरै ठाउँमा अपनाइरहेको कुनै सरल सोच र कार्यक्रम कसैले सुझायो भने त्यसलाई तुरुन्त जटिल र अमूर्त बनाउने सामर्थ्य अक्सर दलहरूमा छ । उसले त्यहाँ वर्ग संघर्ष हेर्न थाल्छ, समाजवाद खोज्न थाल्छ, विदेशी साम्राज्यवाद सुँघ्न थाल्छ र इतिहासको भूत बोलाएर कोकोहोलो गर्न थाल्छ । वर्षौंसम्म एक खाले शब्दभण्डार र वाक्य संरचनामा सोच्न अभ्यस्त नेपाली राजनीतिक दिमागले अरूलाई साधारण लाग्ने अवधारणा बुझ्न पनि ‘कोग्निटिभ’ क्षमता नै गुमाइसकेको छ ।

आफ्नो देशको ‘डेमोग्राफी’ जेजस्तो होस्, भूराजनीतिक अवस्थिति जस्तोसुकै होस्, आन्तरिक सांस्कृतिक विविधता जस्तो होस् र शासकीय स्वरूप पनि जस्तोसुकै होस्, संसारभरका ‘सरकार’ हरूको प्रमुख काम पहिल्यै परिभाषित छ । उसले सरकारमा गएर यसो गर्छु र उसो गर्छु भन्नै पर्दैन । भन्नुपर्ने भनेको त्यो काम कसरी गर्छु भन्ने मात्र हो । त्यही साधारण कुरा भन्नका लागि नेपालको अहिलेको राजनीतिक वर्ग पूर्ण रूपमा अक्षम छ । उसले अमूर्त शब्दमा केही पनि अर्थ नलाग्ने भनाइ चिच्याउनबाहेक साधारण रूपमा गरिनुपर्ने कामबारे बोल्न जानेकै छैन । बदलिँदो संसारको अर्थतन्त्रको प्रकृति, ‘इभोल्भ’ हुँदै गएका सरकारहरूको भूमिका, फेरिइरहेको आप्रवासनको स्वरूप र इतिहासदेखि घुमन्ते मानव स्वभावका आधारभूत चरित्र बुझ्न नसक्नेहरू शासन गर्ने ठाउँमा पुगेपछि हुने परिणति भनेको देश अरूको तुलनामा पछि छुट्ने नै हो । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: