Loktantra Khabar National Weekly
Ad

धूलोभित्र निसासिएको राष्ट्रिय पूर्वाधारको आकांक्षा

लोकतन्त्र खबर
२१ बैशाख २०८१

पुराना चल्तीका सडकलाई फराकिलो बनाएर यातायात थप सहज बनाउन जहाँ–जहाँ काम गरिँदै छ, प्रायः सबैमा उदेकलाग्दो गरी काममा सुस्तता छ । खनेर अस्तव्यस्त छाड्दा सुक्खायाममा धुलाम्य र वर्षायाममा हिलाम्य सडकबाट यात्रु हैरान हुने गरेका छन् ।

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको स्तरोन्नतिको काम सुरु भएको ६ वर्ष भएको छ, तर अहिलेसम्म ५० प्रतिशत मात्र प्रगति छ । धेरै ठाउँमा घनाबस्तीको बीचमा सडक छ, त्यसैले निर्माण गर्दा धूलो उड्न नदिन दिनमा चार पटक पानी छर्कनुपर्ने सर्त थियो । तर महिनौंसम्म पनि सडकमा पानी नहाल्दा उडेको धूलोले स्थानीय घर, विद्यालय र अस्पताललाई अस्तव्यस्त बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी, ट्राफिक प्रहरी र ठेकेदारसहितको नियमित समीक्षा बैठक बस्छ तर पानी किन हालिएन भनेर स्पष्टीकरण सोध्ने र कार्यान्वयन गराउने पहल गरेको छैन । बरु, धूलोकै कारण सडक दायाँ–बायाँका ३५ प्रतिशत सटर बन्द भएका छन् । अझ दाउन्ने ‘हाइट’ का धेरै होटल विगत ५ वर्षदेखि बन्द छन् किननि धूलो उड्ने र जाममा फस्ने डरले गाडी चालकहरू त्यहाँ रोकिन चाहँदैनन् ।

दाउन्नेको उकालोमा दुई फिटसम्म धूलो छ । अघिल्लो गाडीले उडाएको धूलोका कारण चालकले बाटो नदेख्दा दिनहुँ दुर्घटना भइरहेका छन् भने दाउन्ने उकालोको १३ किलोमिटर यात्रा पार गर्न चार घण्टा लाग्छ । धूलोका कारण दुईपांग्रे साधनका चालकले चर्को घाममा पनि ‘रेनकोट’ लगाएर यात्रा गरिरहेका हुन्छन् । त्यस्तै जहाँ पुल भत्काइएको छ, रातिमा समेत ‘डाइभर्सन’ देखिने गरी संकेत चिह्न राखिनुपर्ने हो, तर १ सय १३ किलोमिटरको यो सडकमा यस्ता संकेत कहींकतै छैनन् । त्यसैले दुर्घटना बढाइरहेको छ । आवागमनको जीवनरेखा राजमार्ग राष्ट्रिय लज्जाको विषय बनेको छ ।

पुराना चल्तीका सडकलाई फराकिलो बनाएर यातायात थप सहज बनाउन जहाँ–जहाँ काम गरिँदै छ, प्रायः सबैमा उदेकलाग्दो गरी काममा सुस्तता छ । खनेर अस्तव्यस्त छाड्दा सुक्खायाममा धुलाम्य र वर्षायाममा हिलाम्य सडकबाट यात्रु हैरान हुने गरेका छन् । नीति बनाउने, नियमन गर्ने निकाय तथा व्यक्तिको आँखामा सडक निर्माणको दुरवस्थामा परिरहेकै छ, तैपनि निर्माण व्यवसायीलाई बेलैमा सक्न कडिकडाउ गरेको पाइँदैन, उल्टै निर्माण व्यवसायीको मागअनुरूप म्याद थप्दै जाने प्रवृत्ति छ । तर थपिएको म्यादमा समेत काम नभएकामा जिम्मेवार को हो ? यसको समीक्षा भएको छैन ।

केही वर्षदेखि स्तरोन्तति भइरहेका नारायणगढ–बुटवल, नागढुंगा–मुग्लिङ, आँबुखैरहनी–पोखरा, सूर्यविनायक–धुलिखेल, कञ्चनपुर–कमला सडक सबै चल्तीका हुन् । ती कुनै पनि सडकमा सन्तोषजनक काम देखिँदैन । नारायणगढ–बुटवल सडकमा काम सुरु भएको साढे पाँच वर्ष भयो । सुरुको सम्झौताको म्याद २०७९ साउन २२ मै सकिएको थियो । पछिल्लो पटक थपिएको म्याद आगामी साउनमा सकिँदै छ । तर ५० प्रतिशत मात्र प्रगति भएकाले साउनमा पनि सडक बनिनसक्ने निश्चित छ । प्रगति नभएपछि आयोजनाले २०७९ असोजमा एक महिनाको सूचना निकालेर सरकारले ठेक्का तोड्ने चेतावनी दिएको थियो । ठेकेदारले चाँडै काम सक्ने प्रतिबद्धता जनाएपछि ठेक्का तोडिएन । सडक स्तरोन्नति अत्यन्तै सुस्त भएपछि ऋणदाता एसियाली विकास बैंकले कार्यक्षमतामा प्रश्न उठाउन थालिसकेको छ । पूर्वपश्चिम राजमार्गकै कञ्चनपुर–कमला, काँकडभिट्टा–इटहरी खण्डलगायतमा पनि विस्तार कार्य सन्तोषजनक छैन ।

यता, नागढुंगा–मुग्लिङ सडक काठमाडौं भित्रिने–बाहिरिने गाडीका कारण अत्यन्तै व्यस्त रहन्छ । १२.२६ किमि लामो नागढुंगा–नौबिसे खण्डमा काम सम्झौताअनुसार आगामी जेठमा सकिनुपर्ने हो तर भौतिक प्रगति ५० प्रतिशत मात्र छ । दोस्रो खण्ड नौबिसे–मलेखुको दूरी ४३.५४ किमि छ । म्याद एक वर्ष बाँकी रहँदा यसमा प्रगति १९ प्रतिशत मात्र छ । मलेखु–मुग्लिङ तेस्रो खण्डमा सम्झौताअनुसार ०८२ पुस १३ भित्र सक्नुपर्नेमा अहिलेसम्म प्रगति ९ प्रतिशत मात्र छ । यही गतिमा काम भइरहे नागढुंगा–मुग्लिङ सडकमा यात्रुले अझै केही वर्ष सास्ती खेप्नुपर्नेछ ।

अर्को व्यस्त आँबुखैरहनी–पोखरा सडकमा आर्थिक वर्ष ०७७/७८ बाट स्तरोन्नति भइरहेको छ । यसमा काम आगामी आर्थिक वर्षमा सकिनुपर्ने हो तर यतिन्जेलको प्रगति ३७ प्रतिशत मात्र छ । यता मुग्लिङ–आँबुखैरहनी खण्डमा कहिले स्रोत व्यवस्थापन हुने, ठेक्का लाग्ने टुंगो छैन । मुग्लिङ–पोखरा सडकमा सहज आवागमनका लागि केही वर्ष कुर्नुपर्नेछ । यता काठमाडौं उपत्यकालाई नै जोड्ने सूर्यविनायक–धुलिखेल सडक पनि विस्तारका लागि जथाभावी भत्काइएको छ । अति व्यस्त यस सडकमा पनि कामको गति सुस्त छ ।

सडकलाई विकासको मुख्य आधार मानिन्छ । हाम्रो मुलुकसँग सडक निर्माणको शताब्दी लामो इतिहास भए पनि अझै एउटा जिल्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिनै बाँकी छ । कच्ची सडकसमेत नपुगेका कैयौं पालिका छन् । नयाँ सडक खन्ने काम पनि ठाउँ–ठाउँमा भइरहेकै छ तर तिनमा पनि कामको गति एकदमै सुस्त छ । पुराना व्यस्त सडकहरूसमेत स्तरोन्नति गर्न वर्षौं लगाइँदा यातायात प्रणालीमा असर पुगेको छ । यातायात प्रणालीले मुलुककै अर्थतन्त्रलाई प्रभाव पार्छ । तर सडकजस्तो महत्त्वपूर्ण पूर्वाधार निर्माणमा हेलचेक्य्राइँ भइरहँदा सरकारले कडिकडाउ गर्न नसक्नु विडम्बनापूर्ण छ ।

सरोकारवाला मन्त्री र संसदीय समितिले छिट्टै काम सक्न बेला–बेला निर्देशन दिइरहेका हुन्छन् । बिहीबार पनि प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सडक स्तरोन्नति कार्य यथाशीघ्र सकाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ । म्यादभित्र काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने, बलियो आधार र कारणबिना म्याद नथपिदिने थिति नबसेसम्म निर्देशन मात्रले कामलाई गति दिने देखिँदैन । सरकारले पनि आफ्नो तर्फबाट कुनै व्यवधान सिर्जना गर्नु हुँदैन । मुआब्जा वितरण, रूख कटानजस्ता विषयले काममा प्रभावित हुने अवस्था आउन नदिन अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाइनुपर्छ । भइसकेको कामको भुक्तानी पनि नियमित उपलब्ध गराउनुपर्छ । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: