Loktantra Khabar National Weekly
Ad

चुनाव प्रचारका लागि रास्वपाका चार मन्त्री इलाम जाने

लोकतन्त्र खबर
३ बैशाख २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार मन्त्रीहरूलाई उपचुनावका लागि इलाम पठाउने भएको छ।

इलाम २ मा पार्टीका उम्मेदवार मिलन लिम्बूको चुनावी प्रचार–प्रसारका लागि सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार मन्त्री इलाम जाने भएका हुन्।

सभापति लामिछानेले वैशाख ७, ८, ११ र १२ गतेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको महामन्त्री डा. मुकुल ढकालले बताए।

शिक्षा मन्त्री सुमना श्रेष्ठ वैशाख ५ र ६ गते इलाम रहनेछिन्। त्यहाँ रहँदा उनी चुनावी घरदैलो र कोणसभामा सहभागी हुनेछिन्।

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ वैशाख ९ र १० गते इलाम जाँदैछन् भने श्रम मन्त्री डिपी अर्याल (डोलप्रसाद) ले ११ र १२ गतेको सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ।

चुनावी कार्यक्रममा जाँदा मन्त्रीहरूले सरकारी सुविधा प्रयोग नगर्ने महामन्त्री ढकालले बताए। वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ।

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री ढकाल, सांसद शिशिर खनाल र मन्त्रीहरूको सोमबार बैठक बसेको थियो। बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल भएको महामन्त्री ढकालले बताए।

त्यस्तै मन्त्रालयको कार्यसम्पादनबारे पनि कुराकानी भएको उनले बताए।

‘मन्त्रालयका पेन्डिङमा रहेका फाइलहरू अघि बढाउनेबारे छलफल भयो। आगामी नीति कार्यक्रममा रास्वपाको फ्लेबर आउनुपर्‍यो भन्नेबारे पनि कुराकानी भयो,’ उनले भने।

रास्वपाले प्रत्येक साता मन्त्रीहरूसँग सामूहिक रूपमा छलफल गर्ने गरेको छ। मन्त्रीहरूको कार्यसम्पादनलाई व्यवस्थित, प्रभावकारी बनाउन पार्टीले छलफल गर्ने गरेको उनले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: