नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर विष्टमाथि कुटपिट गरेको आरोपमा भौतिक पूर्वाधार कार्यालय प्रमुख हरि वली पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयको टोलीले वलीलाई आइतबार बिहान पक्राउ गरेको डिएसपी नवीन कार्कीले जानकारी दिए।
चैत २९ गते बेलुकी सल्लीबजारस्थित बालुवा संग्रहको कृष्ण होटलमा ५६ वर्षीय विष्ट र कार्यालय प्रमुख ३६ वर्षीय वलीबीच कुटाकुट भएको थियो।
मदिरा सेवन गरी दुई पक्षबीच सामान्य भनाभनबाट सुरू भएको विवाद पछि कुटाकुट भएको प्रहरीले जनाएको छ।
कांग्रेस सभापति विष्टको टाउकोमा चोट लागेको छ। उनको टाउकोमा पाँच वटा टाँका लगाइएको डिएसपी कार्कीले बताए। पक्राउ परेका वलीले प्रतिकार गर्दा विष्टमाथि चोट लागेको दाबी गर्दै आएका छन्।
‘विष्टले वलीमाथि बियरको बोतल प्रहार गरेको र प्रतिकार गर्दा चोट लागेको भनेर दाबी गरिरहनुभएको छ,’ डिएसपी कार्कीले भने।
उनका अनुसार विष्टको टाउकोमा लागेको चोट सिसाबाट भएको देखिन्छ।
वलीलाई भने कुनै गम्भीर चोट लागको छैन।
कांग्रेस सभापति विष्टले आफूमाथि आक्रमण भएको भन्दै प्रमुख वलीविरूद्ध किटानी जाहेरी दिएका छन्। जसपछि प्रहरीले वलीलाई पक्राउ गरेको हो।
प्रहरी हिरासतमा रहेका कार्यालय प्रमुख वली विरूद्ध विष्टले कुटपिट तथा अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गराएका छन्।
वलीलाई आइतबार नै म्याद थपका लागि जिल्ला अदालतमा पठाउने तयारी गरिएको पनि प्रहरीले जानकारी दिएको छ। सेतोपाटी

