Loktantra Khabar National Weekly
Ad

रक्षा र भौतिक मन्त्री लिएर ओलाङचुङगोला पुगे ओली

लोकतन्त्र खबर
२९ चैत्र २०८०

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ताप्लेजुङको ओलाङचुङगोला पुगेका छन्।

सडक र सीमा क्षेत्र अवलोकनका लागि रक्षा मन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लिएर अध्यक्ष ओली बिहीबार पूर्वी नाका ओलाङचुङगोला पुगेका हुन्।

उनी पूर्वी नाका ओलाङचुङगोला अवलोकनका लागि गएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। ओलीसहित मन्त्रीहरू र सचिव भट्टराई नेपाली सेनाको हेलिकप्टर चढेर गएका हुन्।

‘ओलाङचुङगोलासम्म ट्र्याक बिस्तार भएको छ। अब चीनको सीमासम्म जोड्न २२ किलोमिटरजति बाँकी छ। ट्र्याक र सीमाक्षेत्रका अवलोकनका लागि मन्त्रीहरू आउनुभएको हो। अध्यक्षज्यूले पनि पहिलेदेखि नै आउने इच्छा राख्नुभएको थियो,’ सचिव भट्टराईले भने।

अध्यक्ष ओली बिहीबार नै काठमाडौं फर्कने उनले बताए।

निर्माणाधीन तमोर करिडोरले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोलालाई भर्खरै जोडेको छ। गत फागुन ८ गते तमोर करिडोरको ट्र्याक ओलाङचुङगोलासम्म जोडिएको थियो।

त्यहाँबाट चीनको सीमासम्म २२ किलोमिटर ट्र्याक खन्न बाँकी रहेको छ। तीन हजार २०० मिटर उचाइमा रहेको ओलाङचुङगोलासम्म पुग्ने ट्र्याक खन्ने काम २०७४ फागुनबाटै सुरू भएको थियो।

कोरोनाका कारण गति लिन नसकेको निर्माणकार्य ६ वर्षपछि पूरा भएको हो।

नेपाल, भारत र चीन जोड्ने तमोर करिडोर त्रिदेशीय सडक मार्गसमेत हो। भारतसँगको सिमाना विराटनगरको रानीदेखि धनकुटा मूलघाट हुँदै पाँचथरको सुभाङखोला–अमरपुर, ताप्लेजुङको फुङ्लिङ–ओलाङ्चुङगोला–टिपतालासम्म सडकको दुरी २९९ किलोमिटर छ।

हाल तमोर करिडोर सडकअन्तरगत रानीदेखि मूलघाटसम्म कालोपत्रे भइसकेको छ। मूलघाटदेखि सुभाङखोलासम्म कालोपत्रे निर्माणको क्रम जारी रहेको छ। बाँकी सडकमा पनि स्तरोन्नति र स्तरवृद्धिको काम निरन्तर भइरहेको ताप्लेजुङका सांसद रहेका भट्टराईले बताए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: