Loktantra Khabar National Weekly
Ad

दरबार हाईस्कुलको पुनर्जीवनले दिएको सन्देश

लोकतन्त्र खबर
२९ चैत्र २०८०

नेपालको शिक्षा क्षेत्रमा वैभवपूर्ण इतिहास बोकको दरबार हाईस्कुल पठनपाठनको स्तर खस्कँदै गएर विद्यार्थी पाउनै मुस्किल पर्ने अवस्थामा पुगेको थियो । आर्थिक अवस्था राम्रो भएका परिवारका बालबालिका निजी विद्यालयमा जान्थे, विपन्न वर्गका लागि पनि रोजाइमा अन्तैका सामुदायिक विद्यालय पर्थे । तर अहिले स्थिति उल्टिएको छ ।

विद्यार्थी निजी विद्यालयसमेत छाडेर दरबार हाईस्कुल आउन चाहन्छन् । क्षमताभन्दा बढी इच्छुक देखिएपछि स्कुलले छानेर भर्ना गर्नुपर्ने भएको छ । छोटो समयमै यस्तो कायापलट हुनुको कारण यसको आकर्षक भव्य भवन मात्र होइन, पठनपाठन शैलीमा गरिएको रूपान्तरण पनि हो । दरबार हाईस्कुलमा बढ्दो विद्यार्थी आकर्षणले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधार गर्ने हो भने सामुदायिक विद्यालयमा विद्यार्थीको समस्या हुँदैन भन्ने प्रस्ट पार्छ ।

१ सय ७० वर्षअघि खोलिएको दरबार हाईस्कुल नेपालकै सबैभन्दा पुरानो विद्यालय हो । जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि दरबार हाईस्कुल खोलेका थिए । सुरुवाती समयमा यो विद्यालय राणा परिवारका सन्तानको मात्र पहुँचमा थियो । राणा परिवारको सेवामा खटिने कामदारले आफ्ना सन्तानलाई १९३३ सालदेखि दरबार हाईस्कुलमा पढाउन पाए । १९५७ सालदेखि भने अरू सर्वसाधारणका छोराछोरीका लागि पनि खुला गरियो । तर जब निजी विद्यालय फस्टाउँदै गए, सामुदायिक विद्यालयमा पढाइको स्तर खस्कँदै गयो, दरबार हाईस्कुल विपन्न वर्गका बालबालिका मात्र पढ्ने विद्यालयमा सीमित हुन पुग्यो । हाईस्कुलको वैभव फर्काउन सरकारले पनि चासो दिएन । २०७२ सालमा भूकम्पले भवन भत्काएपछि अवस्था झन् असहज भयो । १० कक्षासम्म पढाइ हुने हाईस्कुलमा २०७५ सालमा ७६ जना मात्र विद्यार्थी थिए । तर त्यसपछि पाँच वर्षमै विद्यार्थी संख्या ६ सय ९३ पुग्यो । आगामी शैक्षिक सत्रमा ७ सय ५० विद्यार्थीलाई पढाउने हाईस्कुलको लक्ष्य छ । यसका लागि अपुग १ सय १२ विद्यार्थी लिन सूचना आह्वान गर्दा ७ सय ७१ जनाको आवेदन परेको छ । आवेदन दिनेमध्ये ७५ प्रतिशत विद्यार्थी निजी विद्यालय पढ्दै गरेका हुन् ।

भूकम्पले भत्काएको भवन पुनर्निर्माणपछि दरबार हाईस्कुल तंग्रिएको हो । काठमाडौंको रानीपोखरी छेउमा रहेको हाईस्कुलमा विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, पुस्तकालय, चमेनागृह छन् । कक्षाकोठाभित्र टेबल, कुर्सीजस्ता पूर्वाधार पनि आकर्षक र व्यवस्थित छन् । डिजिटल माध्यमबाट पढाउने व्यवस्था पनि छ । शैक्षिक पूर्वाधारको पर्याप्तताले पठनपाठनको स्तर उकास्न सहज बनाएको छ । हाईस्कुलमा अतिरिक्त क्रियाकलाप पनि भइरहन्छ । प्रत्येक कक्षामा दुइटा सेक्सन सञ्चालन गरिएको छ । एउटा सेक्सनमा ४० देखि ५० जनासम्म विद्यार्थी पढ्छन् । विद्यार्थीको चाप बढेपछि विद्यालय प्रशासनले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्ने विषयमा छलफल चलाइरहेको छ । काठमाडौं महानगरपालिकाले पनि सामुदायिक विद्यालय सुधारमा जोड दिइरहेकाले दरबार हाईस्कुलको उन्नयन अझै हुने सम्भावना छ ।

दरबार हाईस्कुलजस्तै शैक्षिक स्तर राम्रो हुनासाथ विद्यार्थीको चाप बढेका सामुदायिक विद्यालय अरू थुप्रै छन् । कतिपय सामुदायिक विद्यालयले चाप थेग्न नसकेर प्रवेश परीक्षा लिएर मात्र विद्यार्थी भर्ना गर्छन् । त्यस्ता विद्यालयमा पढ्न चाहनेहरू निजी विद्यालयका विद्यार्थीसमेत हुन्छन् । यसले राम्रो पठनपाठन हुने हो भने विद्यार्थी र अभिभावकको रोजाइमा सामुदायिक विद्यालय नै पर्छ भन्ने देखाउँछ । तल्लो कक्षा निजी विद्यालयमा पढाएर एसईई दिने बेला सामुदायिक विद्यालयमा भर्ना गराउने चलनले समेत यसलाई थप इंगित गर्छ । विद्यार्थी र अभिभावकको यस्तो आकांक्षालाई समेत मनन गर्दै अरू सामुदायिक विद्यालयले शैक्षिक स्तर अभिवृद्धिलाई प्राथमिकता दिनुपर्छ । विद्यालयले गुणस्तरीय शिक्षा दिनु भनेको मुलुकका लागि दक्ष जनशक्ति उत्पादन गर्नु हो, विद्यार्थी स्वयंको भविष्य उज्ज्वल बनाइदिनु हो ।

नयाँ संविधानले विद्यालय व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई तोकेको छ । यसको अर्थ स्थानीय तहलाई मूल्यांकन गर्ने एउटा आधार सामुदायिक विद्यालयको स्तर हो । स्थानीय सरकारले विद्यालयका लागि पर्याप्त शैक्षिक पूर्वाधार व्यवस्थापन तथा पठनपाठनका लागि अनुकूल वातावरण निर्माण गर्न सहयोग एवं सहजीकरण गरिदिनुपर्छ । प्रधानाध्यापकको कुशल व्यवस्थापन, शिक्षकहरूमा पेसागत इमानदारी र अभिभावकको नियमित रखवारी भए सामुदायिक विद्यालयहरू सधैं सफल हुन्छन्, विद्यार्थी अभाव भयो भनेर छटपटाउनुपर्दैन, अर्को विद्यालयसँग गाभिने झन्झट पनि निम्तिँदैन । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: