Loktantra Khabar National Weekly
Ad

उपनिर्वाचनका उम्मेदवारको नामावली आज प्रकाशन, आजै चुनाव चिह्न वितरण

लोकतन्त्र खबर
२७ चैत्र २०८०

काठमाडौं  चैत २७, आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित हुँदै छ । अन्तिम नामावली प्रकाशित भएपछि आजै उनीहरुलाई चुनाव चिह्न वितरण गरिने छ ।

प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेश सभा सदस्यका लागि बझाङ क्षेत्र नम्बर १ (१) मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका लागि चैत २५ गते उम्मेदवारी दर्ता भएको थियो ।

२६ गते मनोनययन पत्र र उजुरीमाथि जाँचबुझको दिन तोकिएको थियो । तर कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैले इलाम क्षेत्र नम्बर २ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ क्षेत्र नम्बर १ (१)मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवारको नामावली प्रकाशन भइसकेको छ ।

अब ती उम्मेदवारहरुमध्ये कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा आज चैत २७ गते फिर्ता लिन सक्ने छन् । उम्मेदवारी फिर्ताका लागि आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यसपछि आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनको मतदान भने वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ ।

४ मंसिर २०७९ मा भएको आम निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २५ गते राति निधन भएपछि र बझाङ क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते गाडी दुर्घटनामा निधन भएपछि रिक्त भएका स्थानमा उपनिर्वाचन हुन लागेको हो । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: