Loktantra Khabar National Weekly
Ad

डाक्टर आएपछि खुले कर्णाली प्रदेश अस्पतालका दुई विभाग

लोकतन्त्र खबर
२५ चैत्र २०८०

कर्णाली प्रदेश अस्पतालका तीन सातादेखि बन्द भएको दुई वटा विभाग खुलेका छन्।

यसअघि विभागमा कार्यरत डाक्टरहरू सरूवा भएर गएपछि विभाग बन्द भएका थिए।

उनीहरूको सरूवा भएर जानेबेलासम्म पनि केन्द्रबाट खटाइएको विशेषज्ञ डा. नआएकाले केही दिन विभाग नै बन्द गर्नुपरेको प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डा. डम्बर खड्काले बताए।

उनका अनुसार विभागमा तीन वर्ष काम गरेका विशेषज्ञ डाक्टरहरू सरूवा भएर गएपछि मुटुरोग विभाग तीन हप्ता बन्द भएको थियो।

न्यूरोसर्जरी विभाग भने एक हप्ता मात्र बन्द गर्नुपरेको खड्काले बताए।

केही दिनअघि स्वास्थ्य मन्त्रालयले खटाएका डाक्टरहरू अस्पताल आएकाले दुवै विभागका सेवा पुनः सुरू गरिएको प्राध्यापक डा. खड्काले बताए।

‘डाक्टरहरू यहाँ हाजिर गर्न ढिला गर्नुभएको थियो, उहाँहरू आइसकेपछि हामीले दुवै विभागका सेवा खुला गरेका छौं,’ उनले भने।

अहिले न्युरोसर्जन विभागमा डा. ओमविक्रम शाह र मुटुरोग विभागमा डा. सुतप यादव आएका छन्।

प्रदेश अस्पतालमा तीन वर्षदेखि काम गर्दै आएका न्यूरोसर्जन डा. निलम खड्का काज सरूवा भएर ट्रमा अस्पताल काठमाडौं फर्किएपछि उक्त विभाग खाली भएको थियो। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: