Loktantra Khabar National Weekly
Ad

गंगासागर र धनुषसागर हेरिटेज खाली गराइने

लोकतन्त्र खबर
२२ चैत्र २०८०

ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ ।

साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने तयारी जनकपुरधाम उपमहानगरपालिकाले गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले ‘हेरिटेज’मा रहेका पसलहरुलाई गोपाल धर्मशालाको दक्षिण तर्फ खाली रहेको जग्गामा व्यवस्थापन गर्न लागिएको छ । उपमहानगरपालिकाको अधिनमा त्यहाँ ७ कठ्ठा जग्गा रहेको छ । त्यस जग्गामा साना व्यवसायीहरुलाई बन्दोबस्त गरिने उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले बताएका छन् । ‘सांस्कृतिक धरोहर गंगासागर र धनुषसागर बीचको सम्पदालाई संरक्षित र सुन्दर बनाउन खाली गराउन लागिएको हो’ उनले भने, साना व्यवसायीहरुलाई जीविकोपार्जन गर्न व्यवस्थित रुपमा जग्गा उपलब्ध गराइने छ । गोपाल धर्मशालाको दक्षिण तर्फ रहेको जग्गामा साना व्यवसायीहरुलाई पसल थाप्न नदिन उच्च अदालत जनकपुरधामले जारी गरेको अल्पकालीन अन्तरिम आदेश खारेज भइसकेको छ ।

व्यवसायीहरु पनि व्यवस्थित रुपमा जग्गा उपलब्ध गराइदिन मागगर्दै आएका छन् । जीविकोपार्जन गर्न सञ्चालन गरिएको पसललाई उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएको स्थानमा सञ्चालन गर्ने बताउँदै आएका छन् ।

गंगासागर र धनुषसागरको बीचको भागमा वैवाहिक कार्यक्रमहरुमा मटकोर र डिहिवार पूजाको भारी भीड हुने गर्छ ।हरेक साँझ गंगा आरतीमा सहभागी श्रद्धालुहरुलाई आउजाउ गर्न समेत कठिनाइ हुने गरेको छ । सवारी साधनको पार्किंग स्थल नजिकै नहुँदा समस्या भोग्नु परेकोले साना पसलहरुलाई हटाउनु पर्ने जउमनपाले जनाएको छ ।

सडकपेटी र सफाईका लागि ‘स्पेशल फोर्स’

जनकपुरधाम उपमहानगरको सडक र पेटीलाई अतिक्रमणमुक्त बनाइ स्वच्छ सफा राख्न ‘स्पेशल फोर्स’ बनाइएको छ । सडक र पेटी खाली गराउन नियमित रुपमा ‘स्पेशल फोर्स’ले अनुगमन गर्ने व्यवस्था गरिएको छ । ‘स्पेशल फोर्स’मा जउमनपाका नगर प्रहरी र नेपाल प्रहरीका जवानहरुलाई राखिएको छ । ‘स्पेशल फोर्स’को सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने छ । ‘स्पेशल फोर्स’को कैम्प रेलवे स्टेशन प्रहरी चौकीमा राखिएको छ ।संयुक्त रुपमा नियमित रुपमा नगरको सडक, पेटी र सरसफाईको निगरानी ‘स्पेशल फोर्स’ले गर्ने नगरप्रमुख मनोज कुमार साहले बताए । ‘नगर सफाइ र व्यवस्थित भएसँगै पर्यटकहरुको संख्यामा भारी बृद्धि भएको छ’ उनले भने, धार्मिक र सांस्कृतिक सहर जनकपुरधाममा पर्यटक भित्र् याउन सबैको सहयोग चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्: