Loktantra Khabar National Weekly
Ad

तजबिजमा कर्मचारी भर्ती गर्ने शिक्षामन्त्रीको लहड

लोकतन्त्र खबर
१९ चैत्र २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजामती कर्मचारीमाथि अविश्वास प्रतिबिम्बित हुने गरी प्रशिक्षार्थी कर्मचारी परिचालन गर्न नयाँ कार्यविधि ल्याएको छ । उच्चशिक्षा अध्ययनरत वा अध्ययन गरिसकेका जोकोहीलाई प्रशिक्षार्थीका रूपमा कामकाजमा लगाउन सकिने व्यवस्थासहित कार्यविधि ल्याइएको हो ।

संविधानअनुसार ऐन र ऐनअनुसार कार्यविधि वा नियमावली ल्याउने विधिमा देश चलेको हुन्छ । तर शिक्षामन्त्री सुमना श्रेष्ठबाट जारी भएको ‘शिक्षा उत्प्रेरक (एजुकेसन क्याटलिस्ट) परिचालनसम्बन्धी कार्यविधि–२०८०’ कुन ऐनअनुसार बनेको हो भन्ने खुलाइएको छैन । लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर विधिसम्मत नियुक्ति पाएका कर्मचारीलाई परिचालन गरेर कार्यसम्पादनको नतिजा देखाउनुपर्नेमा तजबिजीमा समानान्तर संयन्त्र बनाउने गृहकार्यमा मन्त्रालय लागेको हो । यसरी प्रशिक्षार्थी खटनपटन गराउँदा विधि मिचिने मात्र होइन, सूचना सुरक्षाको चुनौती पनि थपिने जोखिम छ ।

कार्यविधिको मस्यौदामा शिक्षामन्त्री श्रेष्ठ र उनको सचिवालयले गरेको हेरफेरले पनि मन्त्रालय तजबिजमा चलाउने खोजेको देखिन्छ । प्रस्तावित मस्यौदामा प्रशिक्षार्थीको सिफारिस विश्वविद्यालय अनुदान आयोगमार्फत गर्ने व्यवस्था गरिएकामा त्यसलाई फेरबदल गरेर मन्त्रालयकै संयन्त्रले छनोट र सिफारिस गर्ने प्रावधान राखिएको छ । छनोट तथा सिफारिस समितिमा शिक्षा सचिव संयोजक र योजना तथा अनुगमन महाशाखाका सहसचिव र मन्त्रालयले तोकेका विज्ञ सदस्य रहने प्रावधान राखिएको छ । त्यसमा जनशक्ति तथा योजना विकास शाखाका उपसचिव सदस्य सचिव हुनेछन् । यो प्रक्रिया शिक्षामन्त्रीले चाहेका व्यक्ति भर्ती गरेर आफूअनुकूल खटाउने माध्यमका रूपमा दुरुपयोग हुने सम्भावना उच्च छ ।

मस्यौदामा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीलाई एक सय पूर्णांकमा मूल्यांकन गरेर शिक्षण अभ्यास (इन्टर्न) का रूपमा परिचालन गरिने प्रस्ताव राखिएको थियो । तर, त्यसलाई हटाएर सिफारिस समितिले सोझै छनोट तथा सिफारिस गर्न सक्ने व्यवस्था गरेको छ । प्रशिक्षार्थी कर्मचारी लिन आवेदन माग गर्ने र त्यसमध्येबाट छनोट गर्ने प्रावधान कार्यविधिमा छ । यस्तै उच्चशिक्षामा अध्ययनरत विद्यार्थीलाई बढीमा तीन महिनाका लागि प्रशिक्षार्थीका रूपमा परिचालन गर्ने मस्यौदाको प्रावधान पनि फेरबदल गरेर जति पनि समय रहन सक्ने व्यवस्था गरिएको छ ।

छानिएका व्यक्तिलाई मन्त्रालयको आवश्यकता, महाशाखागत कार्य चाप, विषयगत क्षेत्र र उनीहरूको रुचिअनुसार प्रशिक्षार्थीका रूपमा परिचालन गर्ने भनिएको छ । शिक्षा उत्प्रेरकले अन्य मन्त्रालय, सरकारी र सार्वजनिक निकायसँग समेत समन्वय र सहकार्य गर्न सक्ने प्रावधान पनि कार्यविधिमा छ । यो मुलुकको स्थायी सरकारका रूपमा रहेको निजामती सेवामाथि राजनीतिक नेतृत्वको सोझो अविश्वास हो । नेपालको विद्यमान कर्मचारी प्रशासन कमजोरीबाट मुक्त छैन, तर त्यहाँभित्रका समस्या विधिपूर्ण पहलबाट सम्बोधन गर्ने हो । विधि मिचेर गरिने कुनै पनि हस्तक्षेपले अराजकता निम्त्याउँछ । अहिले शिक्षामन्त्रीले गर्न खोजेको हस्तक्षेपमा बहालवाला र निवृत्त कर्मचारीले आपत्ति जनाइसकेका छन् । यो कार्यान्वयनमा जाँदा अरू जटिलता थपिने जोखिम छ ।

कुनै पनि सरकारी कार्यालयमा कर्मचारी अभाव छ भने लोक सेवाबाट भर्ना गर्ने कानुनी बाटो छ, भएका कर्मचारीको कार्यक्षमतामा समस्या हो भने अभिमुखीकरण तालिमको बाटो लिनुपर्छ । कसैले जानाजान गल्ती गर्छ भने कानुनी रूपमा दण्डित गर्ने स्थापित बाटो पनि छ । तर, विधि बचाउने भन्दा पनि मनमौजी चलाउन कसैलाई महत्त्वाकांक्षा जाग्यो भने त्यसलाई कानुनले निषेध गर्छ । नयाँ शिक्षामन्त्रीको यो कदम पनि कानुनी रूपमा चुनौतीमुक्त हुन सक्दैन । त्यसैले मन्त्री, मन्त्रालय र समग्र राज्य प्रणालीको लहडले संवेदनशील समय बर्बाद गर्नुअघि विधिसम्मत विकल्पको खोजी गर्नु उपयुक्त हुनेछ । आफ्नै कर्मचारीतन्त्रलाई अविश्वास गरेर गैरप्रणाली सक्रिय बनाउने यस्तो लहड शिक्षा मन्त्रालयले अविलम्ब सच्याउनुपर्छ । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीच विश्वास, समन्वय र सहकार्यले मात्र शासन प्रणाली मजबुत बन्छ । राजनीतिक नेतृत्वले कर्मचारीको क्षमता पहिचान गर्दै जिम्मेवारी तोकेर र प्रोत्साहन गरेर वैध प्रणालीलाई नै सशक्त बनाउनुपर्छ । कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्: