Loktantra Khabar National Weekly
Ad

६० वर्ष कैद सजाय तोकिएका मानव बेचबिखनका दोषी पक्राउ

लोकतन्त्र खबर
१८ चैत्र २०८०

३० वर्ष सजाय पाएका मतियार पनि पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दुई जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीय बच्चु विक सुनार र ४७ वर्षीय दावा तामाङ भन्ने दावा लामा छन्।

एसपी बोगटीका अनुसार मानव बेचबिखनको कसुरमा दावा मुख्य नाइके हुन्। अर्का बच्चु मतियार हुन्।

उनीहरूले लेबनानमा आकर्षक तलब आउने काममा लगाइदिने भनेर सिन्धुपाल्चोकका तीन युवतीलाई काठमाडौं ल्याएका थिए।

घटना २०६४ को हो।

माघ ५ गते उनीहरूले ती युवतीहरूलाई काठमाडौं ल्याएका थिए। काठमाडौंबाटै विरगंज हुँदै  उनीहरूले भारतको शहिदनगर पुर्‍याएका थिए।

त्यहाँ रहेका अरू तस्करलाई उनीहरू दुई जनाले मिलेर एक-एक लाखमा बिक्री गरी नेपाल फर्किएका थिए।

त्यहाँ ती तीन युवतीहरूलाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोप उनीहरूमाथि छ।

यसरी मानव बेचबिखन गरेको खुलेपछि दुई जनाविरूद्ध छुट्टाछुट्टै मुद्दा जिल्ला अदालत सिन्धुपाल्चोकमा दर्ता भएको थियो।

त्यस मुद्दामा २०७८ फागुन १ गते सिन्धुपाल्चोक अदालतले फैसला सुनाएको थियो।

अदालतले बच्चुलाई मतियारको रूपमा ३० वर्ष र ३ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो।

यता दावालाई मुख्य व्यक्तिको रूपमा ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो।

उक्त सजाय भुक्तान नगरी फरार रहेका बच्चुलाई प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ कपन र दावालाई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट पक्राउ गरेको थियो।

उनीहरूको सजाय कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: