Loktantra Khabar National Weekly
Ad

१० महिनादेखि रिक्त महालेखा परीक्षकमा तोयम राय सिफारिस

लोकतन्त्र खबर
१८ चैत्र २०८०

सार्वजनिक संस्थाको अन्तिम लेखा परीक्षण गर्ने निकाय महालेखा परीक्षकमा सचिव तोयम राय सिफारिस भएका छन्।

आइतबार बसेको संवैधानिक परिषदको बैठकले उनको नाम सिफारिस गरेको हो। राय अहिले राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारीको भूमिकामा छन्।

विष्णु पौडेल अर्थमन्त्री भएको बेला उनी अर्थ सचिव थिए। यसअघि राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि उनले सचिवको जिम्मेवारी निभाएका थिए।

महालेखा परीक्षक संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त गर्ने व्यवस्था छ।

गत  जेठ ७ गते महालेखा परीक्षक टंकमणि शर्माको पदावधि सकिएपछि महालेखा परीक्षकको कार्यालय कार्यबाहकको भरमा चलिरहेको थियो।

संवैधानिक परिषदको सचिवालयले साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरुसँग आवेदन मागेको थियो। रायसहित १६ जनाले महालेखा परीक्षक बन्न दाबेदारी प्रस्तुत गरेका थिए।

आवेदन दिनेहरूमा पूर्वसचिव शिशिरकुमार ढुंगाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल ,बाबुराम गौतम थिए।

महालेखा परीक्षक बन्न मान्यताप्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा लेखामा स्नातक उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा काम गरेको वा लेखा परीक्षण सम्बन्धी काममा कम्तीमा बीस वर्ष अनुभव प्राप्त गरेको व्यक्ति योग्य हुन्छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: