Loktantra Khabar National Weekly
Ad

माओवादीले इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने

लोकतन्त्र खबर
१४ चैत्र २०८०

सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने भएको छ।

बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको उपमहासचिव वर्षमान पुनले सेतोपाटीलाई जानकारी दिए।

‘सत्ता गठबन्धनमा रहेका दलहरू सबैले आ-आफ्नै उम्मेदवार उठाउने भनेपछि हामीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेका हौं,’ उनले भने, ‘यो पार्टीहरूको जनमत परीक्षणको विषय पनि हो।’

माओवादी पदाधिकारी बैठकअघि अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमै छलफल गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले एमालेले इलाम २ मा उम्मेदवार तय गरिसकेको अवस्था रहेको र माओवादीले पनि आफ्नै उम्मेदवार उठाउनेबारे जानकारी गराएका थिए।

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।

माओवादीले इलाम क्षेत्र नम्बर २ का लागि चार जनाको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मासहित चार जना उम्मेदवारको नाम मंगलबार केन्द्रमा सिफारिस गरेको हो।

सिफारिस हुने अरू नेताहरूमा प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरूङ रहेको ईन्चार्ज शर्माले जानकारी दिए। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: