काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने तयारी भएको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सै घण्टा खुलाउन निर्देशन दिएको सचिवालयले जनाएको छ।
मन्त्री लामिछानेले सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएका हुन्।
त्यसका लागि आवश्यक योजना जिल्ला सुरक्षा समितिले बनाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
‘आन्तरिक तयारी सुरू भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं।’
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ।
सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।
हाल दुबै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ। सेतोपाटी

