विपद् सधैं आकस्मिक रूपमै आउँछ । तर बेलैमा पर्याप्त तयारी अपनाइयो र होसियार रहन सकियो भने कतिपय विपद्ले बृहत् रूप लिँदैन, जनधन जोगिन सक्छ ।
चैत लागेसँगै आगलागीका घटना मुलुकभर बढेका छन् । आगलागीमा परी पाँच जनाको मृत्यु भइसकेको छ भने दुई सयभन्दा बढी घर खरानी भएका छन् । विभिन्न वन क्षेत्रमा डढेलो सल्किएको छ । हावाहुरी चल्ने सुक्खायाममा आगलागीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउनुपर्ने भएको छ । कतै आगलागी वा डढेलो भइहाले नियन्त्रणमा तत्काल परिचालन हुने गरी राज्यले आफ्ना सम्पूर्ण संयन्त्र तम्तयार राख्नुपर्ने देखिएको छ । आगलागीले घर जल्दा सद्दे केही बाँकी नरहने भएकाले पीडितलाई राहत उपलब्ध गराउन पनि उत्तिकै तदारुकता चाहिन्छ ।
यसपालिको हिउँद १८ वर्षयताकै सुक्खा रह्यो । वर्षा पश्चिम नेपालमा केही मात्रामा भए पनि पूर्वी नेपालमा खासै भएन । त्यसैले तुलनात्मक रूपमा पूर्वी क्षेत्र सुक्खा छ । अहिले आगलागी र डढेलोका घटना पनि पूर्वमै धेरै देखिइरहेका छन् । भोजपुरको हतुवागढी–७, पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको जलेर मृत्यु भयो । तेह्रथुमको फेदाप–१, सिम्लेमा आइतबार अपराह्नदेखि सुरु भएको आगलागीमा परी २३ घर जले । त्यही दिन नै सुनसरीको बर्जु–४ स्थित जयनगर टोलमा आगलागी हुँदा २७ घरटहरा ध्वस्त भए । अन्य स्थानमा आगलागीले घर जलेका खबर आइरहेका छन् । पोखराको काहुँडाँडामा सोमबार लागेको भीषण डढेलोले आसपासका बासिन्दालाई अत्याएको थियो । पछिल्लो साता मात्र मुलुकभर आगलागी र डढेलोका करिब ३ सय घटना भएका छन् ।
आगलागी यस्तो विपद् हो, जसले क्षणभरमै ठूलो क्षति गर्छ । अधिकांश आगलागी वा डढेलो मानवीय कमजोरीले नै हुने गर्छन् । खाना पकाइसकेपछि आगो ननिभाई निस्कँदा, घरमा ग्यास चुहिएर, विद्युत् सर्ट भएर, टुकी वा मैनबत्तीबाट सल्किएर आगो फैलन्छ । चुरोटका ठुटा र सल्काएको सलाईको काटी ननिभाई फाल्नाले आगलागी/डढेलोका घटना हुन्छन् । कतिपय मानिसले वनपाखामा राम्रो घाँस पलाउने, पातपतिंगर जल्दा रूखलाई मल पुग्ने भनेर डढेलो लगाउँछन् तर त्यसलाई नियन्त्रण गर्न नसक्दा वा हावाहुरी चल्दा फैलिएर मानवीय र भौतिक क्षति हुन सक्छ । पछिल्लो एक दशकमा मात्र मुलुकमा आगलागीका २३ हजारभन्दा बढी घटना भएका छन् । यसबीचमा करिब नौ सय मानिसको ज्यान गइसकेको छ । आगलागी र डढेलोबाट वर्षमा औसत २ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति हुने गरेको सरकारी तथ्यांक छ । वनमा डढेलो लाग्दा जैविक विविधतासमेत नष्ट हुन्छ ।
आगलागीका घटना हुन नदिन होसियारी सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यसका लागि जनचेतनामूलक अभियान चाहिन्छ । आगलागी हुने उच्च जोखिम देखिएका बस्तीमा विशेष सतर्कता अपनाउनुपर्छ । अधिकांश नगरपालिकाले दमकल व्यवस्था गरेका छन् । तर दमकल बेलैमा आइनपुगेर/बिग्रिएकाले थन्किएर आगलागीमा बढी क्षति भएको गुनासो सुनिन्छ । सुविधा दिन सकिने क्षेत्र हेरी दमकलको संख्या बढाउनुका साथै आपत् आइलाग्दा तत्काल परिचालन गर्ने प्रबन्ध मिलाउनुपर्छ । हरेक घर/कार्यालयमा अग्नि नियन्त्रक उपकरण (फायर एक्स्टिङ्गुइसर) राख्न सकियो भने सानातिना आगलागी आफैं नियन्त्रण गर्न सकिन्छ ।
सडकको पहुँच नभएको ग्रामीण क्षेत्रमा आगो निभाउन स्थानीय बासिन्दा आफैं जुट्नुको विकल्प हुँदैन । स्वयंसेवी समूह ठाउँ–ठाउँमा तयार गर्न सके आगलागी नियन्त्रणमा प्रभावकारी रूपमा परिचालन गर्न सकिन्छ । ठूलो डढेलो लाग्दा सदरमुकाम र आसपास क्षेत्रमा रहेका सुरक्षाकर्मी परिचालन गर्न सकिन्छ । डढेलो लागे आसपास बस्तीसम्म नफैलियोस् भनेर नियन्त्रणमा जतिसक्दो छिटो जुट्नुपर्छ । वन क्षेत्रमा ठाउँ–ठाउँमा पोखरी निर्माण गर्न सकियो भने डढेलो रोकथाम सहज हुन्छ । डढेलो नियन्त्रण गर्न जाँदा मानवीय क्षति भएका दृष्टान्त थुप्रै छन् । त्यसैले यस्ता कार्यमा पर्याप्त होसियारी अपनाउनुपर्छ ।
आगलागीमा परी कोही घाइते भइहाले उपचारमा उच्च प्राथमिकता दिनुपर्छ । शरीर अलि धेरै जलेको व्यक्तिलाई अस्पताल पुर्याउन जति ढिला भयो उति बचाउन गाह्रो हुन्छ । आगलागीबाट घर जल्दा पीडितसँग लत्ताकपडा, अन्न केही पनि बाँकी रहँदैन । त्यसैले उनीहरूका लागि गाँसबास जोहो पनि तत्काल गरिदिनुपर्छ । विपद् सधैं आकस्मिक रूपमै आउँछ । तर बेलैमा पर्याप्त तयारी अपनाइयो र होसियार रहन सकियो भने कतिपय विपद्ले बृहत् रूप लिँदैन, जनधन जोगिन सक्छ । आगलागी वा डढेलो बढी हुने याममा वायु प्रदूषण उच्च हुने भएकाले स्वास्थ्य सतर्कता पनि अपनाउनुपर्छ । कान्तिपुर

