Loktantra Khabar National Weekly
Ad

अर्जुनलाई सुनको गल्फ बल

लोकतन्त्र खबर
४ चैत्र २०८०

काठमाडौँ — अर्जुनकुमार कार्कीले सातौं एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । उनले ट्रफीसहित सुनको बल पुरस्कार जितेका छन् ।

पोखराको हिमालयन गल्फ कोर्स भएको प्रतियोगिताका विजेतालाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कृत गरे । १८ होलको स्टेबल फोर्ड पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता अर्जुनले ३९ अंक जोडे । आठ ह्यान्डीक्यापमा खेलेका उनले फ्रन्टनाइनमा २२ र ब्याकनाइनमा १७ अंक बटुलेका थिए ।

रमेश गुरुङले ३३ अंक जोड्दै बेस्ट ग्रसको उपाधि जिते । बेस्ट ग्रसमा रमेश र टासी छिरिङले समान अंक जोडेका थिए । तर, ब्याकनाइनमा रमेशले १६ अंक जोड्दै उपाधि जिते । टासीले ब्याकनाइनमा १४ अंकमात्र जोडे । नोर्बु छिरिङ शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते । उनले ५ बर्डी प्रहार गरे ।

पुरुषतर्फ लीलाजंग गुरुङले दोस्रो भए । उनले ३७ अंक जोडेका थिए । उपविजेतामा दुई खेलाडीबीच अंक बराबर भएको थियो । तर, काउन्टब्याकमा १९ अंक जोड्दै लीलाजंगले दोस्रो स्थान हासिल रहे । अंक बराबरी गरेका आयुश मानन्धरले काउन्टब्याकमा १७ अंक जोडेका थिए ।

सिनियर ६० वर्षमाथितर्फको उपाधि बलराम थापाले जिते । उनले ३६ अंक बटुले । सुष्मा सिंहले महिला विजेता बनिन् । उनले ३६ अंक बटुलिन् । उपविजेता बालकासी गुरुङले ३० अंक जोडिन् ।

संगम केसीले क्लोजेस्ट टु द पिनको उपाधि जिते । चौथो होलमा राखिएको होल इन वानको पुरस्कार कसैले जितेनन् । लङ्गेस्ट ड्राइभको उपाधि वान्चेन ढुन्डुपले जिते । उनले ३२० यार्ड लामो ड्राइभ प्रहार गरे ।

दुई दिन चलेको प्रतियोगितामा १ सय ७ पुरुष र १० महिला गरी गल्फरको सहभागिता थियो । बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी कर्पोरेट गल्फरले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानमन्त्री दाहालले ‘बाह्रखरी गल्फ प्रतियोगिता’ सामाजिक र आर्थिक विकासका लागि एउटा पहल भएको बताएका छन् । ‘केही समयअघिसम्म पनि यो खेललाई, एलिटहरूको खेलका रूपमा चिनिएको गल्फलाई बाह्रखरीले विभिन्न क्षेत्रसँग जोड्ने र समग्र सामाजिक, आर्थिक विकासको एउटा पहलको रूपमा स्थापित गरेको छ । यो आफैंमा धेरै महत्त्वपूर्ण छ,’ उनले भने । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले प्रतियोगिता र गल्फकोर्सको वातावरणले लोभ्याएको बताए । त्यस्तै कास्कीबाट निर्वाचित सांसद विद्या भट्टराईले पोखराको पहिचानलाई उच्च बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको भन्दै आभार व्यक्त गरिन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतियोगितालाई हरेक वर्ष पोखरामा आयोजना गर्ने गरी ‘क्यालेन्डर’मा समावेश गर्न पनि आग्रह गरे ।

बाह्रखरी मिडियाका अध्यक्ष एवं प्रधानसम्पादक प्रतीक प्रधानले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सहआयोजक गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद्लगायत निकाय र विगत पाँच वर्षदेखि गल्फ प्रतियोगिताको मुख्य प्रायोजक रहेको एनसेलसहित प्रयोजकहरूप्रति धन्यवाद व्यक्त गरे । दूरसञ्चार सेवाप्रदायक एनसेलका सीईओ जाब्बोर कायोनोभले यस किसिमका कार्यक्रम र प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्: