उनीहरुले ३ चैतसम्मका लागि अग्रिम आठ हजार रुपैयाँ बुझाएका थिए । कलेजकै होस्टेलमा बस्नेहरुको सूचीमा भर्खरै उनीहरुको पनि नाम निस्किएको थियो । त्यसैले उनीहरु मुनलाइट गर्ल्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए ।
३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सन्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन-तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सन्चालकले हातपात गरेकी थिइन् ।
मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरुले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीहरुलाई आफ्नै होस्टलमा ल्याएर राखेको छ ।
कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरुमाथि अमानवीय व्यवहार भएको बताइन् । ‘हिजो बेलुका हामीले विद्यार्थीलाई कलेजको होस्टलमा ल्याएका छौं,’ कलेज प्रमुख मेनुका भण्डारीले भनिन्, ‘अमानवीय व्यवहारका भिडियो भाइरल भएको छ, सञ्चालक विरुद्ध हामी कानुनी उपचार खोज्छौं ।’
३ चैतसम्म अगि्रम होस्टल शुल्क बुझाएका विद्यार्थीलाई अगाडि नै पैसा मागेको र नदिदा अमानवीय व्यवहार गरेको भण्डारीले बताइन् ।
होस्टल सञ्चालकको व्यवहारका कारण विद्यार्थी आत्तिएको बताउँदै उनले भनिन्, ‘दुई जना बेहोस पनि भए, विद्यार्थीहरु डराइरहेका छन्, उनीहरुलाई सम्झाइरहेका छौं, उनीहरुमाथि अमानवीय व्यवहार भएको छ ।’
उनका अनुसार कलेजको होस्टलमा बस्न नयाँ २३ जना विद्यार्थीको नाम निस्किएको छ । टाढाका विद्यार्थीलाई कलेजको होस्टलमा बस्न प्राथमिकता दिइएको बताउँदै उनले मुनलाइन होस्टलमा अमानवीय व्यवहारमा परेका तीन जना विद्यार्थीहरु पनि कलेजको होस्टलमा बस्नेहरुको सूचीमा छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको भिडियो आफूले पनि हेरेको बताउँदै उजुरी आए कानुनी कारवाही गर्ने बताए । होस्टल सञ्चालकले गरेको व्यवहार अमानवीय भएको बताउँदै उनले उजुरी आए पक्राउ गरी मुद्दा चलाउने बताए ।
होस्टलमा अमानवीय व्यवहार भएको भिडियो बाहिरिएपछि होस्टल सञ्चालक भने सम्पर्कमा छैनिन् । अनलाइन खबर

