Loktantra Khabar National Weekly
Ad

इमाडोलमा आमा र दुई बच्चाको मृत्यु भएको घटनामा कारण खोज्दै प्रहरी

लोकतन्त्र खबर
२८ माघ २०८०

ललितपुरको इमाडोलमा आमा र दुई बच्चाको मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

शनिबार अपराह्न साढे ४ बजे महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित ओचुहाइटको घरको चौथो तलाबाट ३६ वर्षीया रबिना महर्जनले हामफालेकी थिइन्।

उनी हामफालेको देखेर स्थानीयले उद्धार गरी किष्ट अस्पताल पुर्‍याएका थिए। स्थानीय घरभित्र जाँदा कोठामा रबिनाका दुई बच्चा पनि अचेत अवस्थामा थिए।

६ वर्षीय छोरा र २ वर्षीया छोरी पनि कोठामा अचेत अवस्थामा फेला परेका थिए।

उनीहरूलाई राति नै प्रहरीले इमाडोलस्थित किष्ट अस्पतालमा पुर्‍याएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले सुरूमा दुबै बच्चालाई मृत घोषणा गरेको थियो।

गम्भीर अवस्थामा रहेकी रबिनाको अबेर राति चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए।

प्रहरीका अनुसार उक्त घटना हुँदा श्रीमान घरमा थिएनन्। घटना भएपछि उनी अस्पतालमा पुगेका हुन्।

हाल उनी विक्षिप्त अवस्थामा रहेकाले प्रहरीले उनीसँग सोधपुछ गरिसकेको छैन। यद्यपि स्थानीयहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ।

यस घटनाको अनुसन्धान गर्न प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीसहित टोली घटनास्थलमा पुगेको थियो।

महिलाको हामफालेर मृत्यु भएको भन्नेमा प्रहरी निष्कर्शमा पुगेको छ।

दुई बच्चाको मृत्यु कसरी भएको हो भन्नेबारे भने प्रहरीले अनुसन्धान गरिरहेको हो। आमाले नै दुई बच्चाको हत्या गरेर पछि चौथो तलाबाट हामफालेको हुनुपर्ने प्रहरीको आशंका छ।

अहिले तीनै जनाको शव पोष्टमर्टमको लागि पाटन अस्पतालमा पठाइएको छ।

पोष्टमर्टम रिपोर्टबाट कसरी मृत्यु भएको भन्नेबारे थाहा पाउने एसएसपी खनालले बताए।

प्रहरीले स्थानीयहरूसँग सोधपुछ गर्दा पारिवारिक कारण हुनसक्ने बताएको छ। यद्यपि यसबारे श्रीमानसँग सोधपुछ गरेपछि थाहा हुने प्रहरीले जनाएको छ। सेतोपाटी

 

 

प्रतिक्रिया दिनुहोस्: