Loktantra Khabar National Weekly
Ad

किशोरीको पेटमा गर्भ रहेको खुलेपछि बलात्कार आरोपमा किशोर पक्राउ

लोकतन्त्र खबर
२८ माघ २०८०

दाङमा १६ वर्षीया किशोरीको पेटमा गर्भ रहेको खुलेपछि बलात्कार आरोपमा प्रहरीले एक जना किशोरलाई पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका-१२ की १६ वर्षीया किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको हो। जसपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका थिए।

पीडित परिवारको जाहेरीपछि प्रहरीले १७ वर्षीया किशोरलाई पक्राउ गरेको हो।

गत असारमा किशोरले किशोरीलाई हापुरस्थित खजुरे सामुदायिक वनमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख भएको कार्यालयका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।

माघ १६ गतेदेखि किशोरी बेपत्ता थिइन्। किशोरले नै विवाह गर्ने भन्दै किशोरीलाई घरमा लगेको पछि खुलेको थियो।

प्रहरीका अनुसार माघ २० गते पनि आरोपितले किशोरीमाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ। उनीहरू दुबै जना एउटै विद्यालयका हुन्।  किशोरी कक्षा ८ मा र किशोर कक्षा ११ मा पढ्ने गर्थे।

प्रहरीले किशोरमाथि जबरजस्ती करणी कसुरमा अनुसन्धान अघि बढाएको छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा (२) बमोजिम १८ वर्ष मुनिको किशोरीमाथि मञ्जुरीमै करणी गरेपनि बलात्कार नै ठहरिने कानुनी व्यवस्था छ।

उक्त उपदफामा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती गरेको मानिनेछ।’ सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: