Loktantra Khabar National Weekly
Ad

विमानस्थलमा हातपात प्रकरण: तीन प्रहरीलाई पठाइयो रानीपोखरी कार्यालय

लोकतन्त्र खबर
२६ माघ २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग हातपात घटनामा संलग्न तीन जना प्रहरीलाई छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरूवा गरिएको छ।

माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा जाँचका लागि खटिएका प्रहरीहरूबीच हातपात भएको थियो।

त्यसमा संलग्न असई संजय तामाङ, प्रहरी जवानद्वय रवि रञ्जन गुप्तान र राजकुमार महतोलाई छानबिनका लागि रानीपोखरी पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी दिपशमशेर राणाले बताए। ‘छानबिनका लागि केही दिनको लागि त्यहाँ पठाइएको हो,’ उनले भने।

विमानस्थलका एसएसपी राणाले उनीहरूलाई पुरस्कृत गर्न कुनै पनि प्रक्रिया अघि नबढेको पनि बताए।

‘पुरस्कार गरेको भन्ने कुरा गलत छ। पुरस्कृत गर्ने भएको भए प्रक्रिया अघि बढेको हुनुपर्ने हो, टिप्पणी उठाएको हुनुपर्छ, तर त्यस्तो भएको छैन,’ उनले भने, ‘प्रक्रिया केही अघि बढेकै छैन। छानबिन भइरहेको बेलामा पुरस्कार दिएको भन्ने कुरा थाहा भएन।’

दुई पक्षबीच हातपात भएपछि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति बनाएको थियो। समितिमा डिआइजी राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य थिए।

समितिले असई तामाङलाई निलम्बन र दुई जवानलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको थियो।

समितिले कारबाही सिफारिस गरेपछि विमानस्थल प्रहरीका प्रमुख रहेका डिआइजी अर्जुन चन्दले असन्तुष्टि व्यक्त गर्दै राजीनामा समेत दिएका थिए। उनले बुझाएको राजीनामा प्रहरी प्रधान कार्यालय नक्साल मानव स्रोत विभागले फिर्ता गरिदिएको थियो।

राजीनामाबारे पुनर्विचार गर्न भन्दै आइजिपी बसन्तबहादुर कुँवरसहित एआइजीहरूले चन्दलाई सम्पर्क गरेका थिए। त्यसयता डिआइजी चन्द १० दिनका लागि बिदामा छन्। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: