Loktantra Khabar National Weekly
Ad

ड्यूटी सकेर फर्किँदा प्रहरी भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु

लोकतन्त्र खबर
२६ माघ २०८०

काठमाडौं  माघ २६, ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।

‘कर्तव्य पालनाको सिलसिलामा गाडीको पछाडिबाट लडेर उहाँको मृत्यु भएको हो’, उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले भने, ‘तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएको थियो, चिकित्सकहरुले मृत्यु भएको घोषणा गरे ।’

प्रहरीले एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ भने भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: