Loktantra Khabar National Weekly
Ad

कुल देउताको पुजामा उम्लिरहेको दूधले नुहाउने मुसहर समुदायको पुर्ख्यौली तथा धार्मिक परम्परा

लोकतन्त्र खबर
२६ माघ २०८०

मनोज यादव—
सर्लाही,माघ २६

तराई मधेसमा विभिन्न जाती समुदायको बसोबास रहेको छ। ती सबै जाती समुदायको पहिचान झल्काउने आफ्नै संस्कृति र परम्परा छन् । मुसहर समुदायको पनि एउटा अलग्गै परम्परा छ।सर्लाही लगायत तराई मधेस क्षेत्रका मुसहर समुदायमा उम्लिरहेको दूधले नुहाउने परम्परा छ ।

उम्लिरहेको तातो दुधले पनि कोही व्यक्ति नुहाउन सक्छ भन्ने कुरा सुनेपछि जोकोहीलाई पनि आश्चर्य लाग्न सक्छ होला । तर यो सत्य हो। तराई मधेसमा बसोबास गर्ने मुसहर समुदाय आफ्नो कुल देउता `भुइँया महाराज´ को पुजा गर्दा उम्लिरहेको दुधले नुहाएर देउतालाई खुसी पार्ने गर्दछन् । पुस्तौदेखि चल्दै आएको यस परम्परालाई मुसहर समुदायले निरन्तरता दिदै आइरहेका छन्।

कुल देउता `भुइँया महाराजको पुजा गर्दा पूजा स्थलमा फूल, प्रसाद,पहेँलो धोती ,परेवा, रक्सी, पान, सुपारीसँगै दुईवटा माटोको भाँडोमा दूध राख्ने गरिन्छ । दुधमा कुनै किसिमको मिलावट गरेको हुनु हुँदैन । सकेसम्म गाई-भैंसीको थानबाटै दुहेर ल्याएको दूध हुनुपर्दछ ।व्याउन लागेको गाई-भैंसीको दूध पनि हुनु हुँदैन । सो दुधलाई दुईवटा माटोको भाँडोमा राखेर चुल्होको आगोमा उमालिन्छ। त्यही उमालिएको तातो दुधबाट मूल झाँक्री(धामी)हरु स्नान गर्ने गर्दछन् ।

तराई मधेसमा लोपोन्मुख ढोल, करताल र घुँघुर लगायतका सांस्कृतिक तथा परम्परागत बाजागाजाको धुनमा महराई(झाँक्री खेलाउँदा गाइने एक किसिमको गीत) गाउँदै र नाच्दै झाँक्रीहरू तातो दूध जिउमा खन्याएर स्नान गर्ने गर्छन् ।

मुसहर समुदायका अगुवा जितु माझीका अनुसार भुइँया महाराजले भाकल गरेको मनोकामना पूरा गरेपछि यस्तो पुजा गर्ने गरिन्छ। यो पुजा मुसहर समुदायले मात्र नभइ भाकल गरेका अन्य समुदायले पनि गर्ने गरेको माझीले बताए।

पौराणिक कथा अनुसार दिना-भद्रीको नाउँले ‘भुईया महाराज’ लाई बुझिन्छ । दिना-भद्री दुबै दाजुभाई थिए । उनको जन्म नेपालकै सप्तरीको तत्कालिन नेगारा गाविस जोगिया जाजरमा भएको थियो । उनीहरु एउटा योद्धा थिए । मुसहर समुदायमाथि भई रहेको अत्याचार र अमानवीय व्यवहारलाई रोक्न दिना-भद्रीले प्रतिकार गरेको र प्रतिकारकै क्रममा दुबै दाजुभाईको मृत्यु भएको थियो ।

दिना-भद्री सप्तरी जिल्लाको कटैया भन्ने ठाउँमा शिकार गर्न जाँदा तन्त्र मन्त्र द्वारा उनीहरुलाई आफ्नो मतमा लिई हत्या गराएको झाँक्री मिठु माझीको कथन छ।

नेपालमा बसोबास गर्ने आदिवासीहरूमध्येका मुसहर जाती अझै पनि गरिबी र अशिक्षाका कारण पिछडिएका छन् । उनीहरू अतिनै मेहनती हुने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्: