Loktantra Khabar National Weekly
Ad

फेसबुक लाइभमा शिवसेना नेताको गोली हानेर हत्या

लोकतन्त्र खबर
२६ माघ २०८०

काठमाडौं  माघ २६, भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या भएको छ ।

फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएका थिए । अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।

भारतीय मिडियाहरुका अनुसार अभिषेक र मोरिस साथी–साथी हुन् । उनीहरुबीच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण  आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको छ ।

सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन् । उनीहरु हाँसीखुसी भिडियो च्याट गरिरहेको देखिन्छ । केहीबेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ । अभिषेक कराउँदै लडखडाएको देखिन्छ । तर गोली चलाउने व्यक्ति भने भिडियोमा देखिँदैन ।

भारतीय मिडियाहरुका अनुसार अभिषेकलाई उनकै साथी मोरिसले आफ्नो अफिसमा बोलाएर गोली हानेका हुन् । त्यसपछि मोरिसले पनि आफैंमाथि गोली चलाएर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

अभिषेकलाई बोरीवली करुणा अस्पताल पुर्याइएको र उपचारको क्रममा ज्यान गएको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

मृतक अभिषेक शिवसेनाको उद्धव ठाकरे गुटका पूर्व विधायक विनोद घोषालकरका छोरा हुन् । बोरीवली विधानसभा क्षेत्रमा घोषालकर परिवारको दबदबा छ । मृतक अभिषेककी पत्नी तेजस्विनी हाल पार्षद छिन् । अभिषेक भने मुम्बईको दहिसर वार्ड नम्बर १ का पूर्व नगरसेवक हुन् । उनी मुम्बई बैंकको निर्देशकसमेत हुन् ।

गत हप्ता पनि महाराष्ट्रको उल्हासनगरमा विशसेनाको एकनाथ शिन्दे गुटका नेता महेश गायकवाडमाथि प्रहरी स्टेसनभित्रै गोली प्रहार भएको थियो ।

अभिषेकको हत्यापछि शिवसेना (उद्धव ठाकरे गुट)ले सरकारको आलोचना गरेको छ । उद्धव गुटका नेता एवम् सांसद सन्जय राउतले महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडनविसको राजीनामा मागेका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: