Loktantra Khabar National Weekly
Ad

अपहरण गरेर ७ लाख फिरौती मागेको आरोपमा दुई जना पक्राउ

लोकतन्त्र खबर
२५ माघ २०८०

नुवाकोटमा अपहरण गरी फिरौती लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले अपहरण कसुरमा दुई जनालाई पक्राउ गरेको डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय चन्द्रबहादुर तामाङ छन्।

घटना सोमबार राति अन्दाजी साढे १० बजेको हो।

ककनी गाउँपालिका-४ रानीपौवाका ५९ वर्षीय सूर्यबहादुर तामाङलाई सोमबार राति १० बजेतिर फोन आएको थियो। फोनमा बिरामीको उपचार गराउन अस्पताल लैजान पर्‍यो भनिएको थियो।

उनी सवारी चालक हुन्। अस्पताल लैजानुपर्‍यो भन्दै फोन आएपछि उनी आफ्नो बा ६ ज ७७७९ नम्बरको सुजुकी अल्टो गाडी लिएर हिँडेका थिए।

ककनी-४ काउलेदेखि ककनी जाने सडकबीच एकान्त स्थानमा अचानक दुई जना आइपुगेका थिए। अपरिचित व्यक्तिले बाटो छेकेर सूर्यबहादुरको गाडी रोके र गाडीभित्र छिरे।

त्यसपछि सूर्यबहादुरलाई गाडीभित्रै आँखामा पट्टी बाँधेर बन्धक बनाएको डिएसपी खड्काले बताए। दुई जनाले उनलाई ज्यान मार्ने धम्की समेत दिएको प्रहरीले जनाएको छ।

उनीहरूले सूर्यबहादुरसँग फिरौती मागेका थिए। पहिले ठूलो रकम माग गरेकोमा पछि ७ लाखमा छाडिदिने सहमती भएको थियो।

फिरौती काठमाडौंमा दिने भन्ने सहमती भएको थियो। सूर्यबहादुरका आफन्तले ७ लाख जुगाड गरेसँगै प्रहरीलाई पनि खबर गरेको थियो।

नुवाकोट प्रहरीले प्रहरी वृत्त बालाजुसँग सहयोग लिएर मंगलबार फिरौती लिन आएका दुई जनालाई पक्राउ गरेको हो।

‘बालाजु प्रहरीको सहयोग लिएका थियौं। फिरौती लिन आएका व्यक्तिलाई पक्राउ गर्‍यौं,’ उनले भने, ‘त्यसपछि बन्धक बनाएको ठाउँमा हामीले पक्राउ परेकै व्यक्तिहरूलाई पैसा पायौं भन्ने सन्देश पठाउन लगाएका थियौं।’

त्यसपछि बन्धक बनाइएका सूर्यबहादुरलाई छाडेर अपहरणकारी भागेका थिए। प्रहरीले यसमा अनुसन्धान गरी संलग्न अन्य व्यक्तिको पनि खोजी गरिरहेको छ।

यसमा सूर्यबहादुरलाई बोलाउने व्यक्तिको पनि संलग्नता हुनुपर्ने प्रहरीको आशंका छ।

बुधबार प्रहरीले उनीहरूलाई सात दिन हिरासतमा राख्न  जिल्ला अदालत नुवाकोटबाट अनुमति पाएको छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: