Loktantra Khabar National Weekly
Ad

ग्यालेक्सीका पूर्वसाझेदार छविलाल जोशीको घरमा छापा, सहकारीको अभिलेख रहेको सर्भर बरामद

लोकतन्त्र खबर
२५ माघ २०८०

जोशी पूर्वडिआइजी हुन्

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मारेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पूर्वडिआइजी जोशीको शंखमुलस्थित घरमा छापा मारेको हो।

उक्त घर सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईले सञ्चालन गरेको नेचर हर्ब्स प्रालिको कार्यालय रहेको प्रहरीले जनाएको छ।

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेकाहरू सँगको बयानमा प्रहरीले सहकारी सम्बन्धी महत्त्वपूर्ण दस्ताबेजहरूको विद्युतीय अभिलेख काठमाडौंमा रहेको भन्ने पाएपछि काठमाडौं प्रहरीलाई उक्त दस्तावेजहरू बरामद गरिदिन बुधबार पत्राचार गरेको थियो।

‘विद्युतीय अभिलेखहरू रहेको सर्भर बरामद गरिदिनका लागि अनुरोध गरेका थियौं,’ कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले सेतोपाटीसँग भने।

काठमाडौं प्रहरीका उच्च प्रहरी स्रोतका अनुसार बुधबार दिउँसो शंखमुलस्थित जोशीको घरमा छापा मारेर सर्भर बरामद गरिएको हो।

‘कास्की प्रहरीबाट पत्राचार भएअनुसार त्यहाँबाट हामीले चार वटा सर्भर बरामद गरेका छौं। आजै कास्की प्रहरीलाई जिम्मा लगाउँछौं,’ काठमाडौं प्रहरी स्रोतले भन्यो।

उक्त सर्भरमा सहकारी सम्बन्धी महत्त्वपूर्ण विद्युतीय अभिलेखहरू हुनसक्ने कास्की प्रहरीले जनाएको छ। उक्त सर्भर लिनका लागि कास्कीबाट प्रहरी काठमाडौं पुगिसकेको एसपी थापाले बताए।

पूर्वडिआइजी जोशी ग्यालेक्सी टेलिभिजन चलाउने गोरखा मिडिया नेटवर्कका संस्थापक थिए। त्यसमा जिबी राईको ५० प्रतिशत र पूर्वडिआइजी जोशीको नाममा ३५ प्रतिशत शेयर थियो।

गोर्खा मिडियाको नाममा सूर्यदर्शन सहकारीबाट धितोबिना १ करोड, अर्कोपटक १ करोड ३० लाख ८९ हजार ऋण‍ दिएको फेला परेको थियो।

सहकारीबाटै नेचर हर्ब्स, नेचर नेक्स्ट लगायतलाई पनि करोडौं रूपैयाँ ऋण दिएको छानबिन प्रतिवेदनबाट खुलेको थियो।

यस ठगी प्रकरणमा प्रहरीले इन्टरपोलमार्फत जिबी राई, थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ।

पूर्वडिआइजी छविलाल जोशीसँग मिलेर जिबी राईले नेचर हर्ब्स चलाएका थिए। उक्त कम्पनीले नेटवर्किङ व्यवसायी गर्ने गरेको खुलेको थियो। एक महिनापछि जोशीले उक्त कम्पनी छाडेका थिए। गोर्खा मिडिया सञ्चालन गर्दा पनि रविलाई भित्र्याउन छविलालले नै भूमिका खेलेका थिए। कम्पनी दर्ता गर्दा जोशीको पनि नाम थियो।

यही सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले पूरक अनुसन्धान गरिरहेको छ। गत सोमबार मात्रै रवि लामिछाने, दिपेश पुन, सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष ज्ञान बहादुर बम्जन र विभिन्न १५ वटा कम्पनीविरूद्ध जाहेरी परेको थियो। त्यसमाथि पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।

सहकारी ठगी प्रकरणमा भविश्वर अर्याल, महेन्द्र भोटे भनिने शिव बहादुर गुरूङ, कुमार रम्तेल र कैलाश कुमार दर्लामी पुर्पक्षका लागि कास्की कारागामा थुनामा छन्।

पूरक अनुसन्धानका लागि भविश्वरलाई प्रहरीले कारागारबाट हिरासतमा ल्याएर अनुसन्धान गरिरहेको छ।

सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड रूपैयाँ अपचलन भएको पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ।  सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: