Loktantra Khabar National Weekly
Ad

दिलीप महतोको हत्या अभियुक्तलाई २५ वर्ष कैद गर्ने जिल्लाको फैसला उच्च अदालतले गर्‍यो सदर

लोकतन्त्र खबर
२५ माघ २०८०

अवैध उत्खननको विरोध गर्दा मारिएका दिलीप भनेर चिनिने धनुषाका ओमप्रकाश महतोको मुद्दामा जनकपुर उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरेको छ।

बुधवार अन्तिम सुनुवाइपछि न्यायाधीशद्वय महेन्दनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले यस मुद्दामा जिल्लाकै फैसला सदर गरेको रजिष्ट्रार यमबहादुर बुढामगरले बताए।

२०७९ फागुन १२ गते धनुषा जिल्ला अदालतले मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरका दिलीपको मुद्दामा तीन जनालाई कैद र जरिवाना सुनाएको थियो।

घटनाका मुख्य योजनाकार चुरियामाइ बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई जनही २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति तिर्न जिल्ला अदालतले फैसला सुनाएको थियो।

त्यस्तै, हत्याका मतियार ठहर भएको जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न फैसला सुनाइएको थियो ।

२०७६ साल पुस २५ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न जाँदा २४ वर्षीय दिलीपलाई घाइते बनाइ टिपरले किचेर हत्या गरिएको थियो।

यस घटनामा जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले ७ जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो।

यद्दपि जिल्ला अदालतले भने क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई सफाइ दिएको थियो।

जिल्लाको फैसलाप्रति चित्त नबुझेको भन्दै सरकारी वकिलको कार्यालय तथा दिलिपका परिवार उच्च अदालत पुगेका थिए।

उच्च अदालतको फैसलाप्रति समेत दिलीपको परिवारलाई भने चित्त बुझेको छैन्। उच्च अदालतले न्याय गर्न नसकेकाले आफूहरू सर्वोच्च अदालत जाने तयारी गरिरहेको दिलिपकी बहिनी लक्ष्मी महतोले बताइन्।

‘यहाँ न्याय मरिसकेको छ। मेरो दाइको हत्यारालाई आजीवन कैद हुनुपर्नेमा जिल्लाकै फैसलालाई सदर गरिदियो। यसमा हाम्रो अलिकति पनि चित्त बुझेको छैन। क्षतिपूर्तिमा पनि चित्त बुझ्ने फैसला भएन,’ उनले भनिन्,  ‘मेरो दाइ कृषि विकास बैंकबाट ऋण लिएर पढ्न जानुभएको थियो।

त्यो ऋण ऋण तिर्न नसकेर जग्गा जमिन लिलाम प्रक्रियामा गइसक्यो। लघुवित्तको पनि ऋण तिर्न सकेनौं। भएरभरका सबै सम्पत्ति घर घडेरी लिलाम हुने अवस्था आइसक्यो। हामी कहाँ बस्ने? ३५ लाखभन्दा धेरै लोन पुगिसक्यो। दाइ भएको भए कमाएर उहाँले सबै तिरिसकेका हुन्थ्यौं।’ सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: