Loktantra Khabar National Weekly
Ad

नगर प्रहरीले शान्तिवाटिकाबाट हटाएपछि फुटपाथमा बस्दै प्रदर्शनकारी

लोकतन्त्र खबर
२४ माघ २०८०

काठमाडौं महानगर प्रहरीले शान्तिवाटिकामा बसेका प्रदर्शनकारी हटाएपछि उनीहरू रत्नपार्कको फुटपाथमा बसिरहेका छन्।

मंगलबार महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको टोलीले त्यहाँ बस्दै आएका झन्डै ५० जना प्रदर्शनकारीलाई सम्पदा क्षेत्रमा बस्न नपाइने भनेर हटाएका थिए। पानी र शौचालयको व्यवस्था भएकाले उनीहरू शान्तिवाटिकामा बस्दै आएका थिए। महानगरले उनीहरूलाई त्यहाँबाट हटाएपछि सडकपेटीमै बस्न थालेका हुन्।

प्रदर्शनकारीहरू अहिले पनि फुटपाथमै छन्। शान्तिवाटिकामा मिटरब्याजी पीडितहरू, आरती साहका परिवार, बलात्कार आरोपी न्यायाधीश भुवन गिरीकी पीडित श्रीमती लगाायतहरू बस्दै आएका थिए।

मंगलबार बिहान बिहान घाम तापिरहेको बेलामा पाण्डे सहितको टोली आएको मिटरब्याज पीडित नवराज लामिछानेले बताए।

‘वरपर सफा छ कि छैन भनेर हेर्न आएको होला भनेर सोचेको थिए,’ उनले भने, ‘तर तपाईंहरू आफ्नो सामान यहाँबाट हटाइहाल्नुस् भनेर भन्नुभयो। एक घण्टाको समय छ भनेर भन्नुभयो। त्यसपछि अरू साथीहरू बसेको ठाउँमा जानुभयो। त्यहाँ त सामान निकाल्न थालिहाल्नुभयो। पछि अन्य नगर प्रहरीहरू पनि आए। समय पनि दिइएन।’

खाना खानलाई पनि महानगर प्रहरीले समय नदिएको उनले बताए।

आरती साहका भाइ प्रेम शाहले पनि महानगर प्रहरी अग्रिम सूचना र समय नदिइकन लछारपछार गरेको बताए। सार्वजनिक ठाउँमा आफूहरू बसेको हुँदा नहट्ने र हट‍्न परे आधिकारिक कागज देखाउन भन्दा पाण्डेले माथिको आदेश भन्दै जबरजस्ती निकालेको उनले बताए।

‘विभिन्न तहका सरकारले सबै ठाउँमा प्रदर्शन गर्न निषेध गरेपछि हाम्रो कुरा कता गएर सुनाउने?,’ उनले प्रश्न गर्दै भने, ‘तर यहाँ नगर प्रहरीहरू हामीलाई आफ्नो घर जाऊ भन्छन्। हामी न्याय नपाएर काठमाडौ‌ं‌ आएको हो। यतिकै बस्न मन लागेर आएको होइन।’

काठमाडौं जिल्ला प्रशासन कार्यालय माइतीघर मण्डलसहित केही स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ। प्रशासनले निषेध गरेपछि उनीहरू शान्तिवाटिकामा पुगेका थिए। तर शान्तिवाटिकाबाट पनि हटाएपछि उनीहरू सडकपेटीमा बस्न थालेका हुन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: