Loktantra Khabar National Weekly
Ad

बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा अरूण चौधरीसहित तीन जना हिरासतमुक्त

लोकतन्त्र खबर
२४ माघ २०८०

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरूण चौधरीसहित तीन जना हाजिर जमानीमा छुटेका छन्।

सरकारी जग्गा निजी बनाएको मुद्दामा बुधबार मध्याह्न तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हिरासतमुक्त भएका हुन्।

तीनै जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिरासतमुक्त गरेको छ। उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो। यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनेको थियो।

त्यसअनुसार बुधबार सरकारी वकिल कार्यालयमा हाजिर गराएर तीनै जनालाई छाडिएको हो। दुई दिनमा अनुसन्धान नसकिने भएकाले पनि प्रहरीले उनीहरूलाई हिरासतमुक्त गरेको हो। उनीहरूलाई सिआइबीले गत बुधबार पक्राउ गरेको थियो।

उनीहरूलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यसमक्ष पेस गरिएको थियो। आचार्यको इजलासले उनीहरूलाई राख्नैपर्ने भए थप दुई दिन मात्र हिरासतमा राख्न र त्यसपछि हाजिर जमानीमा छोड्न आदेश गरेको हो। त्यसअघि बुधबार अदालतमा पेस गर्दा अदालतले चार दिनको अनुमति दिएको थियो।

सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो। बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाएको पाइएको सिआइबीले जनाएको छ।

गत बिहीबार पत्रकार सम्मेलन गर्दै सिआइबीका एसएसपी दिनेश आचार्यले उक्त स्थानमा रहेको १० रोपनी मात्रै नभएर १८ रोपनी जग्गा नै निजीकरण गर्न खोजिएको बताएका थिए। जग्गा हडप्नका लागि बाँसबारीमा च्याम्पियन फुटवेयर लिमिटेड खडा गरिएको समेत सिआइबीले बताएको छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: