मनोज यादव—
सर्लाही,माघ १९
अनुचित लेनदेनका सबै मुद्दा अब प्रहरीले हेर्ने भएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका मिटर ब्याज सम्बन्धि उजुरी सोही कार्यालयले हेर्दै आएका थिए।सरकारले त्यस्ता उजुरीहरुको फछ्र्यौट गर्ने जिम्मेबारी प्रहरीलाई दिने निर्णय गरेपछि जिप्रका सर्लाहीमा दर्ता भएका अनुचित लेनदेनका सम्पूर्ण उजुरीहरु जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो।
जि.प्र.कार्यालयका अनुसार अनुचित लेनदेन छानबिन आयोग गठन हुँदा जिल्लामा १ हजार ९२० छुटफुट निवेदन लिने सूचना जारी भए पश्चात् ३९९ वटा र आयोगबाट अनलाइन प्राप्त २ हजार १३७ वटा समेत गरि ४ हजार ४५६ उजुरीहरु प्राप्त भएका छन् ।ती उजुरीहरु मध्ये आयोग गठन पुर्वका २७ वटामा सहमती गराइ फछ्र्यौट भइसकेका छन् ।
अब फछ्र्यौट हुन बाँकी रहेका ३ हजार ८१५ वटा उजुरीहरुको सम्बन्धमा पिडित र पिडक दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमै बोलाए छलफल गराइने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

